१५६ जनालाई कुवेत जान रोक

0
Shares

काठमाडौं । श्रम स्वीकृति लिएर श्रमका लागि कुवेत जान लागेका १५६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कागजात शंकास्पद रहेको भन्दै त्यसतर्फ जान रोक लगाएको छ ।

विभिन्न एयरलाइन्सबाट कुवेतलगायतका खाडी मुलुक जान लागेका ती नेपाली नागरिकलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले उनीहरूले पेस गरेको कागजातमा शंका लागेको भन्दै फिर्ता गरेको बताइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शंका लागेर असार २५ गते ३७, असार २७ गते १०१ र बिहीबार १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।

वरिष्ठ अध्यागमन अधिकृत झम्कनाथ ढकालले त्यसरी जान लागेका नेपालीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेस गरिएको तर उसको भिसा अर्कै देशको रहेकाले फिर्ता पठाएको जानकारी दिनुभयो ।

त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसै गरी फिर्ता गराइएको थियो । उनीहरूको विषयमा पनि निर्णय भइनसकेको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।