म्याग्दी पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिरसहित)



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीलाई आज (बिहीबार) एक समारोहबीच पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित म्याग्दीलाई पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बच्चा जन्मिएको १५ महिनादेखि ५ वर्ष मुनिका कुल ४४ सय २१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिततासहित म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हाल १५ महिनाभन्दा मुनिका १७ सय १२ जना बालबालिकाहरुले पनि पूर्णखोप लगाइरहेका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको निमित्त प्रमुख लम्सालले बताउनुभयो । बालबालिकाहरुले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चालु वर्षमा जिल्लाको सबै घरधुरीमा सर्वेक्षणसहित ५ वर्षमूनिका बालबालिकाहरुको विवरण सङ्कलन गर्नुका साथै छुटेका बालबालिकाहरुलाई पुनः खोप लगाउने व्यवस्था गरिएको थियो । यसैगरी पूर्णखोप लगाएका बालबालिकाहरुको घरमा पूर्णखोप घर लेखेको स्टिकर टाँस्नुका साथै म्याग्दीका सबै वडाहरु र पालिकालाई पूर्णखोप वडा तथा पालिका सुनिश्चितताको दिगोपना घोषणासँगै जिल्लालाई पनि आज घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीलाई पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेट नघटाई उच्च प्राथमिकताका साथ कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउनुभयो ।

सोही कार्यक्रममा गण्डकी प्रदेशको खोप समन्वय समितिका संयोजक डाक्टर विनोदविन्दु शर्माले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै स्थानीय तह र जनप्रतिनिधिले स्वास्थ्यमा उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव जीवनमा स्वास्थ्य अत्यन्त संवेदनशील रहेको बताउँदै स्वास्थ्य क्षेत्रको विकासमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा खोप अभियानमा सहयोग पु¥याउने जिल्लाका स्थानीय तह, विभिन्न संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । म्याग्दीलाई यसअघि पनि २०७१ साल चैत १५ गते पहिलोपटक नेपालकै छैटौं पूर्णखोप जिल्लाको रुपमा घोषणा गरिएको थियो । यसपटक भने जिल्ललाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम राख्न घोषणा गरिएको बताइएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नेपाली कांग्रेस जिल्ला उपसभापति हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले प्रतिबद्धतावाचन र निमित्त प्रमुख लम्सालले पूर्णखोप सुनिश्चितताको दीगोपना जिल्ला घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


उक्त कार्यक्रममा पूर्णखोप सुनिश्चितताको दिगोपनालाई कायम राख्ने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख थापाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलको स्वागत र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्