कृषि एम्बुलेन्स सञ्चालन गर्दे बेसीशहर नगरपालिका

0
Shares

लमजुङ। 

लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षबाट कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ । व्यवसायीक रुपमा कृषिमा लागेका कृषकहरुको सहजताको लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका कृषहरुले उत्पादन गरेका कृषि उपजहरुको ढुवानी, बजारीकरण व्यवस्थापन गर्न र कृषकहरुलाई प्राविधिक सहायता पुर्‍याउनका लागि कृषि विज्ञ सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने नगरप्रमुख गुमान सिंह अर्यालले बताउनु भयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा २४ लाख १५ हजार बजेट विनियोजन गरी कृषि एम्बुलेन्स खरिद समेत गरेको छ ।

त्यसैगरी नगरपालिकाले कृषकहरुलाई लक्षित गरी कृषि एप्स पनि निर्माण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी कृषिसँग सम्बन्धित नयाँ प्रविधि र सूचना किसान समक्ष पुर्‍याउन कृषि एप निर्माण गर्न लागेको हो । नगरपालिका अन्तर्गतका सबै कृषकहरुलाई आबद्ध गरी कृषिको तथ्याङ्कलाई शुद्धीकरण व्यवस्थित र तथ्यपरक बनाइने नीति लिइएको नगरप्रमुख अर्यालको भनाई छ ।

नगरपालिकालाई कृषिमा आत्म निर्भर बनाउनका लागि नगरपालिकाले हालसम्म ६ सय भन्दा बढी हाते ट्याक्टर वितरण गरिसकेको जनाएको छ । त्यसैगरी नगरपालिकाले आगामी आर्थिक वर्षमा गोरु पाल्ने किसानहरुलाई प्रोत्साहनका स्वरूप १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम राखेको छ ।