कामपा नगरसभामा ३ विधेयक पेस

चौथो बैठक सम्पन्न

0
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको १३ औँ नगरसभाको चौथो बैठकमा ३ वटा विधेयक पेश भएका छन् । आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गर्नुभएको हो । उहाँले, शिक्षा ऐन २०७५ र कर्मचारी सेवा ऐन २०७७ को संशोधन विधेयक र भवन निर्माण मापदण्ड २०८० पेश गर्नुभयो ।

यस्तै सुशासन समितिका सदस्य एवं वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठले, स्वास्थ्य सेवा, नगर प्रहरी सेवा र प्रशासन सेवा अन्तर्गतका विभिन्न पदहरुमा दरबन्दी सिर्जना गर्ने प्रस्ताव पेश गर्नुभयो ।

सञ्चार तथा सूचना विधेयक

सञ्चार व्यवस्थापन, तथ्याङ्क संकलन, खुल्ला तथ्याङ्क वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको हो । पत्रकारिता, प्रकाशन तथा प्रसारण, विज्ञापन व्यवस्थापन लगायतका विषय विधेयकमा समेटिएको छ । १० वटा परिच्छेद रहेको विधेयकमा ६७ दफा छन् । सञ्चार माध्यमको व्यवस्थापन, सञ्चार रजिष्ट्रार र सञ्चार प्रतिष्ठान, जनशक्ति र आन्तरिक सञ्चार व्यवस्थापन, पत्रकारिताको विकास र प्रवर्धन, विज्ञापन नियमन, प्रवर्धन र व्यवस्थापन, सूचनाको हक कार्यान्वयन, सूचना, अभिलेख र तथ्याङ्क व्यवस्थापन विधेयकमा समेटिएका मुख्य विषय हुन् ।

यसअन्तर्गन प्रकाशन, प्रसारणको अभिलेखन, प्रेस पास जारी, सूचना केन्द्र, वेभसाइट, इमेल, सामाजिक सञ्जालको प्रयोग, प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीको व्यवस्था, सञ्चार संस्था, पत्रकार र कर्मचारीको सुरक्षा लगायत व्यवस्था छन् । स्थानीय भाषा, संस्कृतिलाई विशेष सुविधा, पत्रकारिता अनुसन्धानलाई प्रोत्साहन, विज्ञापन व्यवस्थापन र वितरण, लोककल्याणकारी विज्ञापन, राष्ट्रिय र प्रदेश तथ्याङ्क प्रणालीमा आवद्धता, तथ्याङ्कमा आधारित नवप्रवर्तन, सीसीटिभी जडान र डाटा सुरक्षाको विषयलाई विधेयकमा समेटिएको छ । बौद्धिक सम्पत्ति, पारिश्रमिक सम्बन्धी व्यवस्था विधेयकमा समावेश छन् ।

संविधानले स्थानीय तहलाई दिएको सूचना, सञ्चार तथा तथ्याङ्क अभिलेख सम्बन्धी एकल र साझा अधिकारको प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक पर्ने संस्थागत प्रबन्ध, समन्वय र सहकार्य, सार्वजनिक महत्वका विषयमा जानकारी लिन सूचनाको पहुँच जस्ता विषय विधेयकको विधायिकी मर्म हो ।

जनस्वास्थ्य सेवा विधेयक

निःशुल्क, आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई नागरिकको सहज र सरल पहुँचमा लैजान यो विधेयक पेश गरिएको हो । आधारभूत स्वास्थ्य सेवा र सेवा प्रदायक, विद्यालय स्वास्थ्य सेवा, घुम्ती स्वास्थ्य सेवा, विशेषज्ञ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र स्वास्थ्य बीमा, आन्तरिक र वाह्य स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापन लगायत विषय विधेयकमा समेटिएका छन् । अनुगमन तथा गुणस्तर, जनस्वास्थ्य आपतकाल, एम्बुलेन्स तथा शववाहन सेवा, वातावरणीय स्वास्थ्य, खाद्य तथा पानीको गुणस्तर, अखाद्य बस्तु, मदिरा तथा सूर्तिजन्य बस्तु नियन्त्रण नियमन, जनस्वास्थ्यमैत्री भवन निर्माण विधेयकमा समेटिएका छन् ।

प्रेषण तथा उपचार प्रणाली, स्वास्थ्य संस्था सूचना प्रणाली, तथ्याङ्क संकलन, सर्वेक्षण, क्षतिपूर्ति, गोपनीयता, पुनरावेदन विधेयकबाट नगर सभामा प्रस्ताव गरिएको छ ।विधेयकमा ११ परिच्छेद र ६३ दफा छन् ।

महानगर प्रहरी विधेयक

नगर प्रहरी सम्बन्धी व्यवस्था नेपालको संविधानमा स्थानीय तहको एकल अधिकारका रुपमा राखिएको छ । महानगरको नीति, कानुन र निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि नगर प्रहरीको परिचालन व्यवस्थित गराउन विधेयक तर्जुमा गरिएको हो । नगर प्रहरीमार्पmत प्रवाह हुने काम सेवामूलक, जनउत्तरदायी र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ ।

विधेयकमा ११ परिच्छेद र ६५ वटा दफा छन् ।