ग्रामीण सडकमा सञ्चालित सवारीको भाडादर निर्धारण

0
Shares

स्याङ्जा। 

स्याङ्जाका ग्रामीण सडकहरुमा सञ्चालनमा रहेका सवारी साधनका लागि भाडादर निर्धारण गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा चल्ने बसका लागि प्रतिकिलोमिटर ११ रुपैयाँ र जीपका लागि भने १२ रुपैयाँ भाडादर तय गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो । जिल्ला भाडादर निर्धारण समिति र सरोकारवालाको बैठकले एक हप्ताभित्र लागू गर्ने गरी भाडादर निर्धारण गरेको हो । जिल्लामा भएको निर्णय बमोजिम स्थानीय व्यवसायीले समितिको बैठकबाट रुट र भाडा निर्धारण गरी  जिल्ला प्रशासनमा बुझाएपछि भाडादर कार्यान्वयनमा आउनेछ ।

प्रमुख जिल्ला अधिकारीको संयोजनमा स्याङ्जाका स्थानीय तहका प्रमुख, यातायात व्यवसायीहरुबिच भएको छलफलबाट भाडादर निर्धारण गरिएको यातायात व्यवसायी श्यामकाजी अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा पक्की र कच्ची सडकमा भाडादर निर्धारण गरिएको हो । पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रति किलोमिटर ५ रुपैयाँ ५० पैसा र जीपमा प्रति किलोमिटर ६ रुपैयाँ कायम गरिएको छ ।

प्रदेशले निर्धारण गरेको भाडादरका आधारमा स्थानीय सडकहरुमा चल्ने सवारी साधनका लागि भाडादर निर्धारण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको भएपनि यातायात व्यवसायीहरुले आफूखुसी भाडादर निर्धारण गर्ने गरेका थिए । कच्ची सडकमा जिपमा यात्रा गर्ने यात्रुहरुले प्रती किलोमीटर २० रुपैयाँ भन्दा बढी तिर्न बाध्य थिए । स्थानीय स्तरमा सञ्चालनमा रहेका सवारी साधनहरुले मनपरी भाडा लिएको विषयमा यात्रुहरुको गुनासो आएपछि हाम्रो मिडियाले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई सम्पर्क गरी ध्यानाकर्षण समेत गराएको थियो । प्रजिअ घिमिरेले लामो समयदेखि भाडादर निर्धारण नभएको हुँदा स्थानीय तहसँग समन्वय गरी रुट अपडेट गरेपछि भाडादर निर्धारण गरिने बताउनुभएको थियो ।

स्थानीय यातायात व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा भएको छलफल बमोजिम भाडा लिन सहमत भएको भीरकोट कालिका यातायात प्रा.लि.का अध्यक्ष श्यामकाजी अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रशासनमा भएको  निर्णयअनुसार उक्त भाडादर लागू हुने र भाडादर घट्ने देखिएको छ । यदि यातायात व्यवसायीले निर्धारण गरेभन्दा बढी भाडा लिएमा स्थानीय तह, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन प्रजिअ घिमिरेले अनुरोध गर्नुभएको छ ।