पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने कार्य सुरु

0
Shares

कास्की ।

पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको दायाँ बायाँ (राइट अफ वे ) भित्र रहेका निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने कार्य अन्तर्गत पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने कार्य सुरु गरिएको छ ।

मापदण्ड भित्र रहेका संरचना हटाइएको छ भने, लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरिएको छ । हटाउनका लागि महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि केही सवारीहरू महानगरले नियन्त्रणमा लिएको छ ।

यो राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बिच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर चलाइएको हो ।

महानगरले पटक पटक सडकको राइट अफ वे खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजना अन्तर्गत पोखरा महानगरभित्र १७० घर भत्काउनु पर्नेछ । जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण सकिएकोमा ८४ जनाले मुआब्जा बुझेका छन् ।

सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।