राइनासको कुवापानीमा कोल्डस्टोर निमार्ण 

0
Shares

लमजुङ।

पूर्वी लमजुङको राइनास नगरपालिका वडा नं. ९ स्थित कुवा पानीमा कोल्ड स्टोर निमार्ण भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकालाई प्राप्त सङ्घीय विशेष अनुदान अन्तर्गत १९ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निमार्ण भएको हो ।

राइनस नगरपालिका कृषि शाखा प्रमुख पवन ढकालका अनुसार राइनास ९ र १० लक्षित उक्त क्षेत्रमा उत्पादित फलफूल तथा तरकारी भण्डारणका लागि कोल्ड स्टोर निमार्ण गरिएको हो ।

कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिइएको नगरपालिकाले पालिका भित्रै उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी बाली सँगै फलफूलको भण्डारको लागि कोल्डस्टोरको आवश्यकता पहिचान गरी निमार्ण गरिएको राइनास नगरप्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो।

एक वडा एक प्रमुख खाद्यान्न बाली र पशुपालनलाई अभियानकै रुपमा सञ्चालन गरेको नगरपालिकाले वडा नं. ९ र १० लाई गत वर्ष देखि नै विभिन्न अन्नबाली र तरकारी उत्पादन सँगै फलफूल खेतीको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना अघि बढाएको छ ।

उत्पादन सँगै सोको भण्डारको लागि उपयुक्त स्थान आवश्यक भएकाले यसवर्ष वडा नं. ९ मा१७.५ मेट्रिक टन क्षमताको २ वडा कोल्डरुम सहितको संरचना निमार्ण गरिएको इन्जिनियर भिमप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार कोल्डस्टोर निमार्णका लागि स्थानीय ओमकुमार गुरुङले ७ आना जग्गा उपलब्ध गराउनुभएको हो । गत वैशाखबाट सुरु गरिएको कोल्ड स्टोर निमार्ण कार्य यही असारमा सम्पन्न भएको इन्जिनियर दाहालले जानकारी दिनुभयो ।

उक्त कोल्ड स्टोरमा स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूल भण्डार गरी उचित समयमा बजारमा लान सकिने भएपछि सो क्षेत्रका किसानहरुले अव उत्पादित कृषि उपज खेर नजाने बताउनु भयो ।

राइनासको वडा नं. ६ स्याउलीमा पनि आधुनिक प्रविधिको कोल्ड स्टोर निमार्ण सुरु गरिएको छ । वहुवर्षे योजना अन्तर्गत सङ्घीय सरकारको सर्सत बजेटमार्फत गत वर्षबाटै स्याउलीमा कोल्ड स्टोर निमार्ण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।