राष्ट्रिय एकता र राष्ट्रियता बलियो बनाऊ



जुन देशको सरकार र त्यहाँका जनता राष्ट्रिय एकताप्रति संवेदनशील हुँदै एकजुट हुन्छन् त्यस्तो देशले छिट्टै विकास र समृद्धि हासिल गर्न सक्छ । नेपालले वर्षौंदेखि विकास र प्रगति हासिल गर्न नसक्नुको मुख्य कारणमध्ये एक कारण हो राष्ट्रिय एकतामाथिको बेवास्ता ।

यहाँका सरकार र नागरिकहरु विगतदेखि अहिलेसम्ममा आइपुग्दा पनि राष्ट्रिय एकता र राष्ट्रिय भावनाको मालामा गाँसिन सकेका छैनन् । त्यसैले पनि मुलुकले अहिले पनि विभिन्न समस्या झेल्न बाध्य छ । सरकारले नागरिकप्रतिको कर्तव्य निर्वाह गर्न सक्नुपर्छ भने नागरिकले पनि राज्यप्रतिको जवाफदेहिता निर्वाह गर्न सक्नुपर्छ । हामीकहाँ यी दुवै पक्ष आ–आफ्ना जिम्मेवारी बहन गर्न चुक्दै आइरहेका छन् ।

राष्ट्रिय एकता राष्ट्रिय भावनामा बाँधिने आन्तरिक इच्छा हो । राष्ट्रियता भनेको राज्य र नागरिकलाई जोड्ने कडी हो । राज्यको नागरिकप्रतिको कर्तव्य, नागरिकको राज्यप्रतिको जवाफदेहिता र जिम्मेवारीपनको समष्टिगत स्वरुप नै राष्ट्रियता हो । राष्ट्रियताबाट नै राष्ट्रिय एकताको निर्माण हुन्छ । राष्ट्रिय एकता नै राष्ट्रिय अखण्डताको जग हो । राष्ट्रप्रतिको प्रेम नै राष्ट्रिय एकताको आधार हो । पछिल्लो समयमा नागरिक समाजका सदस्यका रुपमा रहेकाहरुलाई नै राष्ट्रियताको बारेमा मतलब देखिँदैन । यो दुःखद हो ।

आम नागरिक आफ्नो राष्ट्रियता र राष्ट्रिय एकताप्रति ओतप्रोत हुन अत्यावश्यक छ । हाम्रो बहुल समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नका लागि प्रमुख नेतृत्वदायी भूमिका भने राजनीतिक नेतृत्वहरुले नै खेल्नुपर्छ । तर विडम्बना, सत्ता र शक्तिको लागि राष्ट्रियतालाई समेत तिलाञ्जलि दिने स्वभाव अधिकांश नेताहरुमा देखिने गरेको छ । सत्तामा जाने राजनीतिक नेतृत्वको कार्यशैलीले राष्ट्रियता कमजोर वा मजबुत बनाउन निर्णायक भूमिका खेल्ने हुनाले राजनीतिक नेतृत्वले नै पहलकदमी चाल्नुपर्छ ।

हरेक राजनीतिक दलको भूमिका राज्यलाई कमजोर होइन सशक्त र बलियो बनाउने खालको हुनुपर्छ । यस्तै गरी समाजका सबै सदस्य तथा नागरिक समाज एवं सरकारी, गैरसरकारी संघसंस्थाको भूमिका पनि राज्यलाई शक्तिशाली बनाउनकै लागि केन्द्रित हुनुपर्छ । हाम्रो प्रशासनिक संयन्त्रले पनि यस विषयमा प्रभावकारी कदम चाल्नुपर्छ । राज्य र राष्ट्रियतालाई सशक्त बनाउन विगतका धेरै सरकार असफल भइसकेको अवस्थामा वर्तमान सरकार पनि सोही पदचापमा नै लम्कँदै गरेको अभास भइरहेको छ ।

यद्यपि अब सरकार सच्चिनुको विकल्प छैन । सरकारले विगतको शिक्षाबाट पाठ सिक्दै आगामी दिनमा राष्ट्रियता शक्तिशाली बनाउने गरी सोही अनुसारका विभिन्न कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । नागकिरहरु पनि अब सच्चिएर सकारात्मक सोचका साथ सरकारलाई झकझक्याउँदै अगाडि बढ्नुपर्छ । त्यसैले सबै मिलेर राष्ट्रिय एकता र राष्ट्रियता बलियो बनाउनु अहिलेको अहं आवश्यकता हो ।

सबैभन्दा घातक विषय भनेको राजनीतिक स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति हाबी हुनु हो । अहिले राजनीतिलाई कमाइ खाने भाँडो बनाउने खतरनाक खेल हुने गरेको छ । आफ्नो स्वार्थपूर्ति गर्नका लागि वैदेशिक हस्तक्षेप बढाउने काम राजनीतिक तहबाट हुनु दुर्भाग्य हो । यस्ता सबै खाले हर्कतहरु तत्काल बन्द गरिनुपर्छ ।

विशेष गरी सरकार सञ्चालन गर्ने राजनीतिक दलले आफ्नो विदेश नीतिलाई कुशलतापूर्वक लागू गर्न सक्नुपर्छ, ताकि कुनै पनि बाह्य देशले हाम्रो देशलाई हेप्न नसकून् । विश्व मानचित्रमा नेपाललाई स्वतन्त्र सार्वभौम मुलुकको रुपमा स्थापित गर्न नेतृत्वले सोही अनुसारको प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । त्यसैले सबै मिलेर राष्ट्रिय एकता र राष्ट्रियता बलियो बनाउनु अहिलेको अहं आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्