गाउँघरमा हराउन थाले ढिकी र जाँतो

0
Shares

लमजुङ। 

पुर्वि लमजुङको दोर्दी गाउँपालिकाका ग्रामीण क्षेत्रहरुमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा बिजुली पुगेसँगै ढिकी जाँतो पाउन छाडिएको हो । ग्रामीण क्षेत्रमा बिजुलीबाट चल्ने नयाँ प्रविधिका कुटानी पिसानी गर्ने मिलहरु भित्रिएसँगै गाउँघरमा ढिकी र जाँतो हराउँदै गएको हो ।

गाउँगाउँको विकाससँगै नयाँ प्रविधि भित्रिए पछि अन्न कुटानी–पिसानी गर्ने परम्परागत ढिकी जाँतोसमेत विस्थापित भएका छन् । हिउँदको समयमा उपल्लो घर, पल्लो घर, तल्लो घर, माथिल्लो घरका मानिस एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी जाँतोमा अन्न कुट्ने गर्दथे । तर, अहिले मिलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरि चल्ने ढिकी जाँतो पूर्ण रुपमा बन्द भएका छन् । धेरै जसो घरहरुमा ढिकी जाँतो नै राख्न छाडिएको छ ।

दोर्दी गाँउपालिका २ सल्लाबोट (भैस्वरा) गाउँ निवासी डिलकुमारी गुरुङको घरमा अहिले ढिकी फुकालिएको छ । ढिकीमा गर्ने काम सबै मिलमा हुने भएपछि फुकालेर दाउरा बालेको गुरुङले बताउनु भयो । विद्युतबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको दोर्दी २ वडा सदस्य रोशन गुरुङले बताउनु भयो ।

थोरै अन्न पिस्न घन्टौँ लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा मिलमा अन्न सजिलै र छिटो पिसिदिने भएपछि सहज भएको वडा सदस्य गुरुङको भनाई छ । अहिले परम्परागत ढिकी जाँतो थन्किएको उक्त वडाका डल्लु गुरुङले बताउनु भयो । १२÷१३ वर्ष अघिसम्म गाउँका आमा भाउजूहरुले बिहान र राति गरी घन्टौँ समय सम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपर्थ्यो भने अहिले नयाँ प्रविधि मिल आएपछि सजिलो भएको उहाँको भनाइ छ ।
आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि क्रमिक रुपमा ढिकी र जाँतोको प्रयोग हुन छाडेको हो ।