लक्ष्मी र सन्राइज बैंकको एकीकृत कारोबार अर्को साता

0
Shares

काठमाडौं । लक्ष्मी बैंक र सन्राइज बैंक एकआपसमा मर्ज भई असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएकाले लक्ष्मी सन्राइज बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

१ बराबर १ को शेयरअनुपातमा मर्जरमा जाने लक्ष्मी सन्राइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार ८०९ रुपियाँ पुग्नेछ । हाल लक्ष्मीको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपियाँ र सन्राइजको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०९ रुपियाँ छ । चैत मसान्तमा लक्ष्मीको जगेडा ५ अर्ब ५० करोड तथा सन्राइजको ७ अर्ब ६० करोड रुपियाँ थियो । दुवै बैंकको सञ्चित जगेडा १४ अर्ब ११ करोड रुपियाँ हुन आउँछ ।

लक्ष्मीको १ खर्ब ५० अर्ब १३ करोड तथा सन्राइजको १ खर्ब ३१ अर्ब ६७ करोड गरी कुल निक्षेप २ खर्ब ८१ अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसैगरी कर्जा परिचालनमा लक्ष्मीको १ खर्ब ३१ अर्ब ४६ करोड तथा सन्राइजको १ खर्ब १९ अर्ब ४३ करोड गरी कुल २ खर्ब ५० अर्ब ९० करोड रुपियाँ हुनेछ । दुवै बैंक एक आपसमा मर्जरको सम्झौता गत पुस २५ गते गरेका थिए ।

कर्जा अपचलन गरेको आरोपमा अनुसधानमा तानिएका सन्राइज वर्तमान अध्यक्ष मोतीलाल दुगड नयाँ बन्ने बैंकको सञ्चालक समितिबाट हटाइएपछि राष्ट्र बैंकले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृत दिएको हो । मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सन्राइजको तर्फबाट ३ जना सञ्चालक समितिमा रहनेछन् । जसमध्ये लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल, डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत छन् । सन्राइजकोतर्फबाट बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन्।