‘जुआन’ स्थापनाको स्वर्ण महोत्सवमा बरुवासहित पूर्व अध्यक्षहरु सम्मानित

नेपाली विद्यार्थी जापानमा पढ्न जान थालेको १२१ वर्ष पूरा

56
Shares

काठमाडौँ ।

जापानमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एसोसिएसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्ष पूरा भएको छ । सन् १९७३ मा सो संस्था स्थापना गरिएको थियो ।

सरकारी स्तरमा नेपाली विद्यार्थीहरु जापानमा पढ्न जान थालेको १ सय २१ वर्ष भइसकेता पनि जापानमा पढेर फर्केका विद्यार्थीहरुले ५० वर्ष अघि मात्र सन् १९७३ मा ‘जुआन’ संस्था स्थापना गरेका थिए ।

सन् १९०१ मा राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमशेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए ।

यसरी पहिलो पटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ, देव नरसिंह राणा र वालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेम बहादुर राजभण्डारी मेकानिकल इन्जिनियरिङ, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए ।

जुआन स्थापनाको ५० वर्ष अर्थात् स्वर्ण महोत्सवको अवसरमा सो संस्थाका पूर्व अध्यक्ष एवम् संस्थापक मध्येका एक ८३ वर्षीय हरेन्द्र विकास बरुवालाई दोसल्ला र सम्मानपत्रसहित ‘जुआन दीर्घ सेवा सम्मान’ बाट सम्मानित गरियो ।

ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जुआनद्वारा ललितपुरको हिमालय होटेलमा आयोजित स्वर्ण महोत्सव विशेष समारोहमा नेपालका लागि जापानी राजदूत युताका किकुताले पूर्व अध्यक्ष बरुवालाई ‘जुआन लाइफटाइम सर्भिस अवार्ड’ बाट सम्मानित गर्नुभएको थियो । ८३ वर्षीय पूर्वअध्यक्ष बरुवा अहिले पनि जुआनको हरेक क्रियाकलापमा उत्तिकै सक्रियताका साथ लागिराख्नुभएको छ ।

सोही अवसरमा जुआन कार्यसमितिले वर्तमान अध्यक्ष डा.प्रवीण श्रेष्ठसहित संस्थाका पूर्व अध्यक्षहरु डा.तारानिधि भट्टराई, डा.बल बहादुर पराजुली, डा.केशव श्रेष्ठ, डा.रामेश्वर पोखरेल, डा.दिनेशराज भुजु, डा.रोहित पोखरेल, मनोज गिरी र डा.प्रेम पौडेललाई पनि सम्मान गर्यो । राजदूत किकुताले वहाँहरुलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो ।

सोही समारोहमा राजदूत किकुताले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर स्वर्गीय हिमालय शमशेर राणालाई मरणोपरान्त सम्मान गर्नुभएको थियो । सो सम्मान उहाँका छोरा अमर शमशेर राणाले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा जुआनका अध्यक्ष डा. प्रवीण श्रेष्ठले राजदूतावासलाई दिएको प्रशंसापत्र ग्रहण गर्दै राजदूत किकुताले नेपाल र जापानवीच सरकार सरकारवीच मात्रै नभई जनता जनताविच पनि गाढा सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

जापानमा उच्च शिक्षा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीबाट नेपालमा शैक्षिक, सामाजिक र प्राविधिक ज्ञान विस्तार गर्न सहयोग पुगेको पनि राजदूत किकुताले बताउनुभयो ।

कार्यक्रममा जुआनको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित ‘जुआन स्मारिका २०२३’ तथा जुआनका पूर्व अध्यक्ष बरुवाद्वारा लिखित पुस्तक ‘फ्रेण्डशिप एण्ड स्पिरिचुयल लिंक विथ द पिपुल अफ जापान’ जापानी राजदूत किकुताले विमोचन गर्नुभयो । पुस्तकका लेख बरुवाले त्यसबारे प्रकाश पार्नुभयो ।

त्यस अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दुईदेशवीचको सम्वन्धलाई प्रगाढ पार्न जुआनले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जुआनले ललितपुरको बागमती करिडोरमा रोप्न लागेको साकुराको विरुवाको संरक्षण गर्ने दायित्व महानगरको भएको प्रस्ट पार्नुभयो ।
जुआनका अध्यक्ष डा.प्रवीण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जुआनका पूर्व अध्यक्ष डा.केशव श्रेष्ठ, वर्तमान उपाध्यक्ष डा.खड्ग केसी, महासचिव डा.जीवन भट्टराई, टोयोटा नेपालका र्सुयांस वैद्य, जुआनका सदस्य प्रा.मनसा थापालगायतले बोल्नुभएको थियो ।