लमजुङ।
स्मार्ट भिलेज घलेगाउँमा एक वर्षको अवधिमा १७ हजार भन्दा बढी पर्यटक भित्रिएको छ । आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार २० सम्म घलेगाउँमा १७ हजार १ सय १६ जना आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नका लागि आएका हुन् ।
घलेगाउँमा गत भदौ महिनामा १ सय ३३ जना पर्यटक भित्रिएका थिए । असोज महिनामा १ सय ६२ जना, कार्तिकमा २९ सय ६ जना, मंसिरमा २ हजार ८ सय ७९ जना, पुस महिनामा २ हजार ६ सय ६७ जना, माघमा ११ सय७३ जना, फागुनमा १३ सय ६२ जना, चैतमा २ हजार ९९ सय जना, वैशाखमा ९ सय १६ जना, जेठमा ६ सय ४२ जना र असारमा १ सय ४८ जना पर्यटक आएको घलेगाउँ पर्यटन समितिका कर्मचारी दीर्घ घलेले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ मा भने १२ हजार ५ सय ७३ जना पर्यटक घलेगाउँ घुम्नका लागि आएको दीर्घ घलेले बताउनुभयो ।

क्व्होलासोथर गाँउपालिका ३ स्थित स्मार्ट भिलेज घले गाँउसमुन्द्री सतहदेखि २१ सय मिटरको उचाइमा अवस्थित घलेगाउँबाट टाढासम्म दृश्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ । देवीको मन्दिर उत्तर दिशातर्फ फर्किएको हुँदा यसअघि साबिक गाविसको नाम पनि घले उत्तरकन्या राखिएको उक्त वडाका वडा अध्यक्ष आशविर गुरुङले बताउनुभयो । उक्त मन्दिरमा वर्षमा एक पटक माघे सक्रान्तिको दिनमा पुजाआज गर्ने गरिन्छ । यस्तै गुरुङ र घले राजाको बगैँचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न सकिन्छ ।
२०५६ सालमा १२ बाट सुरु भएको घले गाउँ होमस्टे अहिले ४५ घरमा होमस्टे सञ्चालनमा छन् । ग्रामीण पर्यटनको नारा सङै पर्यटन व्यवस्थापन समिति, घलेगाउका अध्यक्ष तथा समाजसेवी प्रेम घलेको अगुवाइमा २०७९ वैशाख १ गते सुखी गाउँ, घलेगाउको घोषणा सङै तत्कालीन प्रधानमन्त्री के.पि. शर्मा ओलिबाट उक्त पार्कमा सेल्फि पोइन्टको पनि समुद्घाटन भएको थियो ।
घले गाउँको होमस्टेमा स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरू उपभोग हुने होमस्टे सञ्चालक कमला गुरुङले बताउनुभयो । खानाका परिकारहरुमा सिस्नोको फाँडो, टिमुरको अचार, लोकल मासु, भात, ढिँडो, बारीमा फलेको आलु, लोकल चामल पाइन्छ । पारिवारिक वातावरणमा बसेर खान पाइने हुँदा पर्यटकहरु पनि मोहित हुने र होमस्टेप्रति आकर्षित बन्ने गरेको छ ।
घले गाउँ सम्म पुग्नका लागि सदरमुकाम बेसीसहरबाट तीनवटा मार्ग हुँदै पुग्न सकिन्छ । पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङ्पानी, कपुरगाउँ हुँदै घलेगाउँ, दोश्रो मार्ग बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै घलेगाउँ र तेस्रो मार्ग बेसीशहरदेखि खुँदी, रोपलेफाँट, नायुँ हुँदै घलेगाउँ पुग्न सकिन्छ । यातायात सेवाबाट साँढे २ देखि ३ घण्टा र पैदल यात्रामा ६ देखि ७ घण्टामा घलेगाउँ पुग्न सकिन्छ । अहिले घलेगाउँमा इन्टरनेटको सुविधा समेत रहेको छ ।











प्रतिक्रिया