घोराही सिमेन्टको अर्को बदनियत, आईपीओ आवेदन रद्द गर्ने लगानीकर्तालाई अल्मल्याउने दाउ

0
Shares

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओलाई परेको आवेदन रद्द गर्ने प्रक्रिया सम्भवतः आजदेखि शुरू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकले आईपीओ फिर्ता लिन चाहनेहरूका लागि सूचना प्रकाशित गर्नुपर्ने निर्णय गरेपछि बिक्री प्रबन्धकले सो प्रक्रिया थालनी गरेको स्रोतको भनाइ छ ।

बोर्डले आईपीओ फिर्ताको सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र लगानीकर्ताले आईपीओ फिर्ता लिनसक्ने निर्णय गरेको थियो । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा निष्काशन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिनुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले सर्वसाधारण लगानीकर्ताले चाहेमा आईपीओ फिर्तासँगै थपघटसमेत गर्न सक्ने बताउनुभयो ।

बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरे आइतबारसम्म लगानीकर्ताले आवेदन दिनसक्ने छन् । बिक्री प्रबन्धकले सूचना प्रकाशितका लागि दिएको आवेदन बोर्डले स्वीकृत गरेको स्रोतको भनाइ छ ।

बदनियतपूर्ण ढंगबाट महँगो मूल्यमा सेयर निष्कासन गरेर सर्वसाधारण लागनीकर्तालाई दिग्भ्रममा पारेर जनताको पैसा ठग्ने योजनामा लागेको घोराही सिमेन्टले आईपीओ रद्द गर्ने प्रक्रियामा समेत बदनियत देखाएको स्रोतको भनाइ छ । यसमा निष्काशन तथा बिक्री प्रबन्धक हिमाल क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङको संलग्नता रहँदै आएको छ । निष्काशन गरेको सेयर पूरै बिक्री नभए आफैंले सकार्नुपर्ने भएपछि बिक्री प्रबन्धक दुई कम्पनी घोराहीको इशारामा नाच्न बाध्य हुँदै आएको स्रोतले बतायो । १० लाख कित्ता मात्रै बिक्री भएन भने पनि ४३ करोड रुपियाँ बिक्री प्रबन्धकले लगानी गर्नुपर्ने बाध्यता रहन्छ । जसले गर्दा जसरी हुन्छ लगानीकर्तालाई भिडाउने प्रपञ्च रहेको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ रद्द गर्ने म्याद तीन दिन मात्रै दिएको अवस्थामा लगानीकर्ताबाट ठूलो संख्यामा आवेदन रद्द गराउन सक्ने देखिएकाले बीचमा एक दिन शनिवार पारेर लगानीकर्ता अल्मल्याउने षड्यन्त्र रहेको स्रोतको दाबी छ ।

‘मेरो सेयर’मार्फत् आवेदन दिएका लगानीकर्तालाई आवेदन फिर्ता लिनका निम्ति फिचर नै नभएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थामा नै गएर फारम भर्नुपर्ने झन्झट रहेको छ । जम्मा तीन दिनको म्याद दिएको र त्यसमध्ये बीचमा एक दिन बिदा पारेर सूचना प्रकाशित गर्दा न्यून संख्याका लगानीकर्ताले मात्रै आवेदन फिर्ता लिनसक्ने उद्देश्य देखिएको स्रोतको भनाइ छ ।

पहिला बैंकलाई आफ्नो आवेदन रिजेक्ट गराईदिनका लागि आवेदनपछि मात्रै मेरोसेयरबाट रिअप्लाइमार्फत् कित्ता थपघट गर्न सकिने जस्तो झन्झटका कारण तीन दिनको समय कम भएको लगानीकर्ताको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओमा बदमासी भएको निष्कर्ष निकाल्दै आवेदन फिर्ता चाहाने लगानीकर्तालाई फिर्ता दिने तथा थप छानबिनका लागि प्रहरीसमक्ष आग्रह गर्ने र आफैं पनि थप छानबिन गर्ने बताइरहेका बेला लगानीकर्ताले भुलेर पनि महँगो दरमा आईपीओ खरिद गर्ने लगानीकर्ताले जनाएका छन् ।

बोर्डले आवेदन फिर्ता लिने समय कम भएको अवस्था वित्तीय साक्षरता कम भएका लगानीकर्ताले बुझ्न समय लाग्ने भएकाले आवेदन फिर्ताका लागि कम्तीमा एक साता समय हुनुपर्ने माग गरेका छन् ।

यसअघि बोर्डले सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकाले जालसाजी सम्बन्धमा प्रहरीसमक्ष थप छानबिनका लागि सिफारिस गर्ने, निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको, एनआईसी एसिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेको बारेमा थप छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।