सिद्ध कुमाख गाउँपालिकामा आफ्नै स्थानीय पाठ्यक्रम निर्माण

0
Shares

सल्यान। 

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिद्ध  कुमाख“ नामक स्थानीय  पाठ्यक्रम निर्माण गरेको हो ।

स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा आधारभूत तह (कक्षा १ देखी ८ सम्म) मा स्थानीय पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा वलीले बताउनुभयो । स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ । सोही अधिकार र निर्देशन अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पाठ्यक्रममा गाउँपालिकाको परिचय, स्थानीय जातजाति, भेषभूषा, भाषा, धर्म, पालिका भित्र रहेका सम्पदाहरु समेटिएका छन् । यस्तै परम्परागत खेती आवश्यकता, सम्भावना, स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रममा वनजंगल, कृषि, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगायतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो  । सिद्ध कुमाख गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयका करिब ३५ सय विद्यार्थीलाले पाठ्यक्रम अध्ययन गर्ने शिक्षा शाखा प्रमुख वलीले बताउनुभयो  ।

गाउँपालिका अध्यक्ष भरत गिरीले पाठ्यक्रम निर्माण गर्दा स्थानीयतालाई नै प्राथमिकता दिएर निर्माण गरिएको बताउनुभएको छ । सिद्ध कुमाख गाउँपालिकाको जात, धर्म, सस्कृती, पर्यटन, भौतिक अवस्था, पालिकाको काम कर्तव्य, बाटो पानी बिजुली आदी समेटेर निर्माण गरिएको पाठ्यक्रममा विद्यार्थीले पनि सिकुन् भन्ने उद्देश्य रहेको बताउनुभयो ।

उहाँले भन्नु भयो, “ बालबालिकाले अन्य शिक्षा सिक्ने, तर पालिका भित्र सम्भावना के छ? यहाँको रहन सहन कस्तो छ भनेर, यहाँको जात धर्म के हो ? पछिल्लो समय संस्कार, सम्मान आफ्नो धर्म, पहिचान बाट पलायन हुदै गएकाले तिनै ससकृतिहरुलाई जग्रेर्ण गर्ने उद्देश्यले हो,“ शिक्षालाई गुणस्तर बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निर्माण गरिएको हो, बालबालिकाले संस्कार सिकुन्, आमा बाबाको सम्मान गर्न सिकुन्, धर्म सिकुन् भन्ने उद्देश्य रहेको छ ।

पाठयक्रम बाट विभिन्न मौलिक कलाको बारेमा जान्ने,ससकृतिको विकास, समृद्धिको विकास गर्न टेवा पु¥याउने उहाँले बताउनु भयो । विद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउने खालका बिषयबस्तुहरु पनि समेटिएको पालिका अध्यक्ष गिरीले बताउनुभएको छ ।

 “ हाम्रो सिद्ध  कुमाख“ नामक स्थानीय  पाठ्यक्रम एक कार्यक्रमका बिच कार्यक्रमको आयोजना गरी विद्यालय हरुलाई हस्तान्तरण  गरिएको छ । शैक्षिक सत्र २०८० देखि विद्यालय तहमा लागू भैसकेको पाठ्यक्रम  कार्यान्वयनमा  प्रबोधीकरण तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।