ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक



 पर्वत। 

 अहिले सवारीका साधानहरु गाउँगाउँमा पनि गुड्छन् । शहरबजारमा ट्राफिक प्रहरीको सुविधा हुन्छ तर गाउँघरमा ट्राफिक नियमको बारेमा पनि खाँसै जानकारी नै हुँदैन । जब गाउँबाट बालबालिका देखि वृद्धहरू पनि शहरबजारमा आउँछन उनीहरुमा ट्राफिक चेतनाको कमीका कारण दुर्घटना पनि बढेर जान्छ।

ग्रामीण क्षेत्रमा रहेको ट्राफिक नियम बारेको अज्ञानता हटाउने उद्देश्यले पर्वतमा भने गाउँघरमा नै पुगेर ट्राफिक नियम सिकाउन थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात भएको छ । पर्वत ट्राफिकले जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने सवारीहरुको अनुगमन तथा विद्यालय र समुदायमा पुगेर सचेतना दिने काम ट्राफिक प्रहरीले गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। सामान्यतः राजमार्ग, बजार क्षेत्र तथा पक्की सडकहरुमा दुर्घटना बढी हुने भएकाले ती क्षेत्रमा केन्द्रित रहँदै आएको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि यो कार्यक्रमको सुरुवात गरेको हो।

ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरुलाई जिम्मेवार बनाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न अभियान चलेको छ । यसले  ग्रामीण इलाकाका यात्रुहरुमा ट्राफिक सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।  ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरु माझ अनुशासनको भावना जगाउने काम भएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले ग्रामीण क्षेत्रमा समेत बढ्दै गइरहेको सवारीहरुको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गइरहेको बताउनुभयो । पर्वत ट्राफिकले सवारी नियमको कार्यान्वयनका लागि गर्दै आइरहेको प्रयास प्रशंसनीय रहेको भन्दै उनले अब ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अनुगमनको आवश्यकता रहेको औँल्याए। सहरी क्षेत्रमा चल्ने सवारीहरुले कागजपत्र तथा सवारीको अवस्थामा ठिक अवस्थामा राख्ने गरेको भए पनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुन सक्ने उहाँको भनाइ छ।

ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरुले विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेर सुसूचित गराउने प्रयास भइरहेको बताउनुभयो ।  सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरु मान्नु असल नागरिकको कर्तव्य भएको उहाँको भनाइ छ। त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरु आम नागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्