बजारीकरणको जिम्मेवारी लिँदै गल्याङ नगरपालिका

0
Shares

स्याङ्जा। 

जिल्लाको गल्याङ नगरपालिका–१ का रमेश बस्याललाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब ३० क्विन्टल आलु र अन्य तरकारी उत्पादन गर्नुहुन्छ । बस्याल जस्तै धेरै किसानलाई अहिले भने उत्पादित सामान बिक्दैन कि भन्ने चिन्ता छैन । गल्याङ नगरपालिकाले किसानले उत्पादन गरेको तरकारी लगायत अन्य बस्तुको पनि बजारीकरणको प्रबन्ध गरिदिने भएपछि उत्साहित भएका किसान विभिन्न काममा लागेका छन् ।

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्थानीय साधन स्रोतहरुको प्रयोग गरेर नियमित उत्पादन र गुणस्तरीय बस्तुहरु उत्पादन गर्न सबै किसानलाई आग्रह गर्नुभएको छ । उत्पादित बस्तुको बजारीकरणमा नगरपालिकाले जिम्मेवारी लिने उहाँले बताउनुभयो । गल्याङ नगरपालिकाको आयोजनामा आयोजित वडा नं.२ लेमभित्ता स्थित मगर भवनमा “गल्याङ नगरको समृद्धिका आधार, सामाजिक विकास र न्यायसङै कृषि उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडपा) बजारीकरणमा सहयोग तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै शर्माले सहभागीहरूलाई उत्पादनमा लाग्न आग्रह गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले तालिम लिएर बजारको अभाव छ भनेर दोष नलगाउन सहभागीलाई आग्रह गर्दै उत्पादनमा वृद्धि गरेर आर्यआर्जनमा जोडिन अनुरोध गर्नुभयो । ठूलो परिमाणमा व्यावसायिक तबरले बस्तु उत्पादन गर्नुहोस्, बजारीकरणको समस्या पर्नेछैन शर्माले सहभागीहरूलाई भन्नुभयो । अर्को आर्थिक वर्षमा धेरै भन्दा धेरै महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिममा सहभागी गराउने गरी कार्ययोजना अगाडि बढाइने उहाँले बताउनुभयो । यस्ता तालिमले समाजमा रहेको गरिबी निवारणमा टेवा पुग्नुको साथै स्थानीय साधन स्रोतको सही रुपमा परिचालन हुने र रोजगारी सिर्जना हुने शर्माको विश्वास छ ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.२ का वडाध्यक्ष खर्क बहादुर थापा(अशोक), वडा नं.७ का वडाध्यक्ष झविलाल पाण्डे, वडा नं.८ का वडाध्यक्ष झिम बहादुर थापा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (धुर्व), गल्याङ नगरपालिका वडा नं.१ का वडा सदस्य डोलमाया बस्याल, प्रशिक्षकको तर्फबाट पुष्पा अर्याल, सुनिता अधिकारी, सहभागीहरूको तर्फबाट अस्मिता खनाल, नारायणी पाठक लगायतले तालिम लिने मात्रै नभएर उपयोगमा चासो दिनुपर्ने बताउनुभयो । चप्पल बनाउने, सिलाईकटाई, अचार बनाउने, बुटिक भर्ने, साबुन बनाउने लगायतका विभिन्न समूहका १ सय ५० जनालाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा तालिममा उत्पादन गरिएका वस्तुहरु प्रदर्शन समेत गरिएको थियो ।