अर्जुन र दीपाश्रीलाई रजत सम्मान

0
Shares

छायाँछवि क्रियसनको आयोजनामा आज सोमबार राजधानीमा हुने डि सिने अवार्ड २०७६÷०७७ मा अभिनेता तथा निर्माता अर्जुन श्रेष्ठ र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलालाई छाया“छवि रजत सम्मानबाट सम्मानित गरिने भएको छ।

सन् १९९१ को फिल्म सम्पत्तिबाट अभिनय यात्रा शुरु गरेका अर्जुन श्रेष्ठले ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने केही फिल्म निर्माण पनि गरेका छन्। यस्तै, विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रममा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको फिल्म गाउँलेबाट यस क्षेत्रमा प्रवेश गरेकी दीपाश्री निरौलाले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्नुका साथै छक्का पञ्जाका बहुचर्चित तीन सिरिज निर्देशन गरेकी छिन्। राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने समारोहमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट कुवेर गिरीलाई पुरस्कृत गरिने अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी गराए।

यस्तै, यस वर्ष कलाका विभिन्न माध्यमबाट नेपाली फिल्म, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पुर्याएका कलासाधकलाई छायाँछवि सम्मान प्रदान गरिने भएको छ। यस वर्ष अभिनेता तथा मोडल दीनेश केसी, फिल्म निर्देशक चेतनाथ दंगाल, समुन्द्र भद्म, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछवि सम्मान प्रदान गरिने भएको छ।

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको फिल्म छनोट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिस्ट जीवन थापा, मोडल सुदीप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका छन्। समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मबाट विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन्।