जनतामा आशा र भरोसा जगाऊ

0
Shares

संघीय शासन प्रणालीको अभ्यास भएको ७ वर्ष पुग्दै गर्दा स्थानीय तहमा दोस्रोपटक नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुगिसकेको छ । स्थानीय तहको अघिल्लो शासन सत्तामा स्थानीय सरकारले प्रारम्भिक समयमा गनुर््ुपर्ने संरचना निर्माण, भौतिक पूर्वाधारको व्यवस्था, कानुन निर्माणलगायतका कार्यहरु भएका छन् । ती कार्यहरुले संघीय शासन प्रणालीको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ । तर पनि स्थानीय तहले जुन रुपमा सुशासन कायम गर्नुपर्ने हो, त्यो रुपमा सुशासन कायम गर्न नसक्नु दुःखद हो । स्थानीय तहमा केही विकृति देखिए पनि यो जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आशा र भरोसाको केन्द्र पनि हो । गाउँका सिंहदरबारको भूमिकामा रहेका स्थानीय सरकार संघीय शासन प्रणाली सफलताको महत्वपूर्ण आधार पनि हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रुपमा रहेका स्थानीय तहमा नै निर्भर छ । त्यसैले स्थानीय तहलाई सुशासन–मैत्री र जनप्रिय बनाउनुपर्छ । यसका लागि स्थानीय तह आफैँ सच्चिनुपर्छ भने प्रदेश सरकार र केन्द्रीय सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्न जरुरी छ । यो सरकार जनताको वरिपरि घुमिरहने भएकाले यसको विशेष महत्व रहेको छ । यो सरकारले संविधानबमोजिम आफैँ कानुन निर्माण गर्ने, स्थानीय बासिन्दाको आवश्यकता, माग र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने, विकास निर्माण कार्य गर्ने, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने, स्थानीय सेवा प्रवाह गर्ने र स्थानीय जनतालाई सुखी एवं खुशी राख्ने महत्वपूर्ण जिम्मेवारी पाएको छ ।

संविधानले नै अनुुसूची ८ मार्फत स्थानीय तहको अधिकारलाई स्पष्ट गरेको छ । तर यस्तो महत्वपूर्ण जिम्मेवारी पाएका स्थानीय तहले आफ्ना कार्यहरु गर्दा पारर्शिता अपनाउन सकेका छैनन् भने ती कार्यहरु गर्दा सुशासन कायम गर्नसमेत सकेका छैनन् । यति महत्वपूर्ण भूमिकामा रहेका कैयौँ स्थानीय तहहरु कुशासनको चक्रमा पर्दै आइरहेका छन् । स्थानीय तहमा भ्रष्टाचार र अनियमितता यति धेरै बढेको छ कि भ्रष्टाचारमा सरकारका सबै निकायलाई उनीहरुले उछिन्ने अवस्था देखिएको छ । काम, सुशासन र सेवा प्रवाहको हिसाबले अन्य सरकारलाई उछिन्न सकेको भए धेरै राम्रो हुन्थ्यो तर विकृति, भ्रष्टाचार र अनियमिततामा अन्य निकाय तथा सरकारलाई उछिन्नुले स्थानीय तहको गरिमा र महत्व दिनानुदिन घट्दै गइरहेको छ ।

त्यसैले अब स्थानीय तहका जनप्रतिनिधिहरुले विगतबाट पाठ सिकेर सुधारको मार्ग अवलम्बन गर्नुको विकल्प छैन । किनकि स्थानीय सरकारबाट जनताले ठ्ूलो आशा र भरोसा राखेका छन् । त्यसलाई निभ्न दिनुहुँदैन । त्यसैले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरु अब सच्चिनुको विकल्प छैन । स्थानीय तहलाई कमाइ खाने भाँडो होइन कि जनतालाई सेवा दिने सर्वोत्तम सेवा केन्द्रको रुपमा स्थापित गर्न सक्नुपर्छ । यसका लागि पदाधिकारीहरु सबै किसिमका लोभलालचबाट मुक्त भएर जनताको सेवामा समर्पित हुनुपर्छ र हरेक प्रकारका विकास निर्माणका कार्यमा सुशासन कायम गर्नुपर्छ । त्यसो हुन सकेमा मात्रै स्थानीय तहप्रति जनताको विश्वास र भरोसा बढ्न पुग्छ भने संघीय शासन प्रणालीको संस्थागत विकासमा समेत महत्वपूर्ण टेवा पुग्छ ।