महाभारतको गोकुलेमा शिक्षकले कुटे शिक्षक



काभ्रे। 

महाभारत गाउँपालिकास्थित वडा नम्बर १ आँपटारमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा कार्यरत शिक्षक दिलकुमार दुलालले भैरव माध्यमिक विद्यालयमा कार्यरत कृषि प्राविधिक तर्फका वरिष्ठ प्रशिक्षक मोहन भट्टलाई शनिवार दिउँसो हातपात गरेका छन् ।

‘शनिवार दिउसो आफ्नै डेरा नजिकै रहेको होटेलमा खाना खाएर बसिरहेको थिएँ । एक्कासि शिक्षक दिलकुमार दुलालले हातपात गर्नु भयो’–वरिष्ठ प्रशिक्षक शिक्षक मोहन भट्टले इलाका प्रहरी कार्यालय गोकुलेमा दिएको निवेदनमा उल्लेख गरिएको छ । शिक्षक दुलाल र उनको परिवारका सदस्य बीच शनिवार दिउसो पनि सार्वजनिक स्थानमा झगडा भएको थियो । महिला तथा छात्राहरुमाथि पटक पटक दुर्व्यवहार समेत गरेको आरोप लागेका शिक्षक दुलाललाई शक्तिका आडमा कारवाही नभएको र उजुरी गर्न समेत डराएको भन्दै स्थानीयहरुले गुनासो गर्दै आएका थिए । अन्यत्र घर भई डेरा लिएर बसेका शिक्षक भट्ट माथि दिउसै सार्वजनिक स्थलमा हातपात गरिएको भन्दै कारवाहीको माग गरिएको छ ।

शिक्षक दुलाल अखिल नेपाल शिक्षक संगठनका महाभारत गाउँ कमिटी अध्यक्ष हुन् । शिक्षकहरुले सक्रिय राजनीति तथा ठेक्कापट्टामा संलग्न हुन नपाउने व्यवस्था गरिएको भए पनि दुलालले महाभारत गाउँपालिका स्थित छोटेशान मैनडाँडा सडक निर्माणमा १ करोडको ठेक्का साझेदारीमा हात पार्नु भएको थियो भने गाउँपालिका कार्यालय अघि रहेको खेलकुद मैदानको ३५ लाखको ठेक्का हात पार्नु भएको थियो । उहाँले पढाउने विद्यालयको शैक्षिक गुणस्तर गाउँपालिकाले लिएको परीक्षामा शून्य जस्तै देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्