वडा अध्यक्ष र सदस्यको धम्कीपछि आत्महत्या

८ दिनदेखि अस्पतालमा शव, जाहेरी रोकेर सहमति प्रयास



काभ्रे।

काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिन देखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफै वार्ता गराइरहेको छ ।

‘बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरुविरुद्ध किटानी जाहेरी दिएका छौँ’–छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छन् । जाहेरी दर्ता नगरी शव बुझ्दैनौ ।’ भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्तविरुद्ध पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ । २०८० असार १० गते बिहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने र जग्गा पास गर्ने सहमति भए पनि रकम दिन आनाकानी गर्दै आएका थिए । रकम नदिने र जग्गा पास समेत नगरी जर्बजस्ति भवन निर्माण गरेको र पुन थप भवन निर्माण गर्न तथा शौचालय निर्माण गर्नका लागि जग खन्ने, निर्माण सामाग्री जम्मा गर्ने कार्य गर्न लागेको भन्दै ठडेन्द्रबहादुर पन्त सहितले अवरोध गर्ने प्रयास भएको थियो ।

२०८० असार २ गते वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, भीमेश्वर महिला कृषि समूहकी अध्यक्ष दानकुमारी महत खत्री भएको स्थानमा ठडेन्द्रबहादुर पन्त सहित गएर रकम माग गरेका थिए । खरिद गरिएको जग्गाको तत्काल रकम दिन अनुरोध गर्नु भएको छ । रकम नदिँदासम्म उक्त स्थानमा निर्माण कार्य रोक्न गरेको अनुरोधलाई अस्वीकृत गर्दै वडा अध्यक्ष श्रेष्ठ, संस्थाकी अध्यक्ष तथा वडा सदस्य समेत रहेकी दानकुमारी खत्रीले हामी जनप्रतिनिधि हौँ , तेरो घरको बत्ती समेत काट्छौँ, जन्म दर्ता सिफारिस कागज पत्र दिँदैनौ, सामाजिक बहिस्कार गर्छौ तिमिहरुले सकेको गर भन्दै धम्की दिएका थिए । ताराबहादुर पन्तले उक्त जग्गामा रोपेको मकै उखेलेर फालिदिएर जग्गामा जर्बजस्ति निर्माण कार्य गरी मानसिक यातना र धम्की दिएका थिए । धम्की पछि विक्षिप्त भएका ठडेन्द्रबहादुर पन्तले सोही जग्गाको नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

पीडितहरुले सोही कारण आफ्ना बाबु ठडेन्द्रबहादुर पन्तले आत्महत्या गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै दिएको जाहेरी जनप्रतिनिधिले रोकेर छलफल गराइरहेका छन् । जनप्रतिनिधिहरु आफै अपराधलाई संरक्षण गर्न तर्फ उन्मुख भएको भन्दै स्थानीयहरूले आपत्ति गरेका छन् । निमित्त प्रहरी प्रमुख डिएस्पी ढुण्डीराज न्यौपानेले प्रहरीमा आएको जाहेरी दर्ता हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्