बिलन्दु बासीलाई पहिरोले दिएको चोट 



ओखलढुंगा ।

 यही असार ७ गते बेलुका परेको अविरल वर्षाका कारण खसेको पहिरोले चम्पादेवी ८ बिलन्दुका ६५ घरपरिवार पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण एकै घरका  ३६  वर्षीय रण बहादुर गुरुङ, २९ वर्षीय शिवमाया गुरुङ, १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी कृतिका गुरुङको गत असार ७ गते बेलुकै निधन भएको थियो ।

पहिरोका कारण जोखिममा रहेका घरका परिवारहरु चम्पादेवी गाउँपालिका ८ को कल्पेश्वार मा. वि को भवनमा अस्थायी स्थानान्तरण गरेर राखिएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज के. सी ले बताएका छन् ।  पहिरो पीडितहरूलाई केही समयका लागी विद्यालयमा राखिएको र अवरुद्ध बाटो निर्माण सम्पन्न पश्चात् चम्पादेवी ९ डल्ली डाँडामा भूकम्प पछि नेपाली सेनाले निर्माण गरेको पुर्नवास केन्द्रमा लगेर राख्ने योजना रहेका पालिका अध्यक्ष केसीले बताएका छन् ।

पहिरोले खाने पानीको मुहान पुरिदा पहिरो प्रभावित नागरिकहरु शुद्ध खानेपानीबाट वञ्चित भएका छन् । मजुवा खोला , महभिर खोला र भोल्टे खोलाको पानीका मुहानहरु पुरिदा बिलन्दुका बासिन्दाले शुद्ध खानेपानीको अभाव झेली रहेका छन् ।

खानेपानी पूर्तिका लागि गाँउपालीकाले निर्माणाधीन पलापु खानेपानी योजनाका लागी खरिद गरी ल्याइएको पाइप प्रयोग गरी नजिकैको खोल्सीबाट पानी ल्याई समुदायमा वितरणको पहल भईरहेको पालिका अध्यक्ष नवराज केसीले बताएका छन् ।

 ढाडे खोलामा रहेको ढाडे (कागते) खोला लघुबिद्युत् आयोजनाको पावर गृहमा पहिरोले पूर्ण क्षति पु¥याएका कारण चम्पादेवी ८ र ९ नम्बर वडामा बिद्युत् पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

 बिलन्दुमा सञ्चालनमा रहेका ७ वटा सिँचाई कुलोहरुमा पहिरोकै कारण पूर्ण क्षति पुगेको पालिका अध्यक्षले बताएका छन् । बिन्दु खेती योग्य उर्वर भूमि हो । यहाँ साना सिँचाइ योजना र गाँपालिकाको समपूरक बजेट बाट सिँचाइ कुलो हरुको निर्माण गरिएको थियो ।

यसरी सिँचाइ कुलोमा क्षति भएकाले आगामी दिनमा खाद्यान्न उत्पादकत्वमा ह्रास आउने गाउँपालिका कृषि शाखाले जनाएको छ ।
कृषकहरुले लगाएको मकै आलु लगाएतको बाली पहिरोले पुरिएका कारण आगामी दिनमा बिन्दु बासीले खाद्यान्न संकटको समेत समस्या भोग्नु पर्ने परिस्थिति आउन सक्ने अध्यक्ष केसीले जनाएका छन् ।

बिलन्दुको सिरमा रहेका थाम डाँडा र पोखरी डाँडा भत्किएर बस्तीमा झरेपछि धन जनको क्षति भएको हो । २०७२ सालको भूकम्पका कारण थामखर्क र पोखरी डाँडामा ध्वजा फाटिएको र हाल अधिक बर्षातकाकारण कमजोर जमिन भास्सिएर पहिरो गएको अध्यक्ष केसीको कथन छ।

पहिरोका कारण पहिरो प्रभावित क्षेत्रमा रहेका नागरिकहरु त्रासमा रहेको पानी पर्न साथ डराउनु पर्ने अवस्था रहेकाले पहिरो प्रभावितहरुलाई छिटो भन्दा छिटो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आफू लागि परिरहेको अध्यक्ष केसीले बताएका छन् ।

बिलान्दुबाट बाहिरा निस्कने सबै नाकाका बाटाहरु पहिरोका कारण अवरुद्ध रहेको छ । बाटो खोल्ने काम भइरहेकाले बाटो खुले लगतै पहिरो प्रभावितहरुलाई बिलन्दुको डल्ली डाँडामा रहेको नेपाली सेनाले भूकम्प पछि निर्माण गरेको अस्थायी आवास केन्द्रमा केही समय राख्ने र पुन स्थापना केन्द्र निर्माण गरेर स्थायी बसोबासका लागी सार्ने उद्देश्य रहेको अध्यक्ष केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्