करिश्माको व्यथा पोखिएको बगान



आगामी शुक्रबार रिलिज हुने फिल्म बगानको गीत सार्वजनिक गरिएको छ।

न वारमा छु, न पारमा छु बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ। गीतको भिडियोमा प्रमुखरुपमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा उनको चरित्रको कथा व्यथा समेट्ने दृश्य समावेश गरिएको छ। काखे छोरी हुर्काउँदै एकल जीवन बिताउनु पर्दाका विभिन्न भोगाइ गीतमा प्रस्तुत गरिएको छ। अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको फिल्म अभिनेता सरोज खनालको डेब्यु निर्देशन बनको हो। करिश्मा लामो समयको अन्तरालपछि यही फिल्मबाट पर्दामा फर्किएकी हुन्।

सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतले अभिनय गरेको फिल्म स्वप्न नीरवको कथामा आधारित छ।

नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा सुरेश वाग्लेद्वारा निर्मित तथा अभिनेता एवं निर्माता विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर र मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ। नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहेका देशमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाडौं उपत्यका तथा बाहिर एफडी कम्पनीले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्