र्‍यापर खतिवडाविरुद्ध उजुरी



विराटनगर । चर्चित र्यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ।

उनले विराटनगरमा सञ्चालन गरेको जी क्याफे एन्ड बिस्त्रोमा एक युवाको मृत्यु भएपछि परिवारजनले हत्या भएको भन्दै खतिवडा र उनका कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका हुन्। मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासिद अन्सारीको क्याफेमा रहस्यमय तरिकाले मृत्यु भएको भन्दै उनका आफन्तले हत्या भएको आरोप लगाएका हुन्।

प्रहरीका अनुसार अन्सारीले क्याफेमा मासु बेच्न लैजाने गरेका थिए। गत असार ३ गते बिहान खतिवडाको क्याफेमा मासु दिएबापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे गएको र उनको हत्या भएको मृतकका भाइ मासिद अन्सारीले आरोप लगाएका छन्। अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरिश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन्।

होटल सञ्चालकले क्याफेको ढोकामा ठोक्किएर अन्सारी घाइते भएको दाबी गरेका छन्। सिसाको ढोकामा ठोक्किएर अन्सारीको तिघ्रामा गहिरो चोट लागेको र उपचारको लागि विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको दाबी गरिएको छ। अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाइ र १ इन्च गहिरो काटिएकाले नसा काटिएर मृत्यु भएको अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस्