घोराही सिमेन्ट इन्डस्ट्रीको कारोबार शंकास्पद- भारतीय कम्पनीसँग फर्जी बिलमा कारोबार

0
Shares

काठमाडौं । सर्वसाधारणदेखि नियमक निकायसम्मलाई झुक्याउन असफल प्रयास गरिरहेको घोराही सिमेन्ट इन्डस्ट्रीको एकपछि अर्काे गर्दै नयाँ–नयाँ काण्डको पर्दाफास हुँदै गएको छ ।

झुटो विवरण पेस गरेर आईपीओ जारी गर्नेदेखि नक्कली आवेदन देखाएर सर्वसाधारणलाई ठग्ने प्रयास गरिरहेको उक्त कम्पनीबाट अवैध एवम् अपारदर्शी आर्थिक कारोबार हुने गरेको रहस्यसमेत खुलेको छ ।

कम्पनीले विदेशी कम्पनीसँग नक्कली बिलमार्फत् करोडौं रुपियाँको कारोबार गर्ने गरेको तथ्य नेपाल समाचारपत्र दैनिकले फेला पारेको हो ।
नेपाल समाचारपत्रलाई प्राप्त तथ्यअनुसार घोराही सिमेन्टले आशिष ट्रान्सपोर्ट कर्र्पोरेसनसँगको कारोबार अवैध र शंकास्पद रहेको छ । उक्त ट्रान्सपोर्टको प्यान, भ्याट नम्बर जस्ता करमा दर्ता नभएको कम्प्युटर प्रिन्टका बिलबाट करोडौं रुपियाँ भुक्तानी गर्दै आएको फेला परेको छ ।

कोइला खरिद, ढुवानीलगायतका नाममा सो कम्पनीले जारी गरेको बिलमा कम्पनीको दर्ता नम्बरसमेत उल्लेख छैन । भारतको उत्तरप्रदेशस्थित कतरा रेलवे स्टेसननजिक शाखा कार्यालय रहेको मात्रै बिलमा उल्लेख छ । साथै उक्त कम्पनीको बिलमा ट्रान्सपोर्ट एन्ड कमिसन एजेन्ट उल्लेख गरिएको छ ।

पब्लिक कम्पनीका रूपमा रहेको तथा अर्बौं रुपियाँ लगानी भएको भनिएको घोराही सिमेन्ट इन्डस्ट्रीको कारोबारमा प्रयोग हुने बिल भ्याट तथा प्यान नम्बरबिनाका भेटिनुले अन्य आर्थिक कारोबारको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।

कम्पनीले करोडौं रुपियाँका खाली बिल स्वीकार गर्ने के बाध्यता आइप¥यो ? भन्ने एउटा प्रश्न छ भने अर्कोतर्फ नेपालमा आर्जन गरेको धन भारत लैजानका लागि कम्पनी अपनाएको अवैध मार्गप्रतिसमेत आशंका जन्माएको छ ।

उच्च स्रोतका अनुसार घोराही सिमेन्टले भारतको अर्को नक्कली कम्पनी अमित ट्रेडिङसँग पनि ‘फेक बिल’ कारोबार गर्दै आएको स्रोतको दाबी छ । दुई देशका कम्पनीबीच हुने कारोबार बैंकिङ प्रणालीमार्फत् एवम् भन्सार र राजस्वसम्बन्धी प्रचलित कानुनअनुसार हुनुपर्नेमा बजारमा तरकारी किनेको जस्तै बिल कसरी मान्य भयो ? त्यो नै रहस्यमय रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार आशिष ट्रान्सपोर्ट र अमित ट्रेडिङ घोराही सिमेन्ट इन्डस्ट्रीको भगिनी कम्पनी रहेको भए पनि ट्याक्स अडिट तथा लेजर अडिट हुनुपर्छ । तर, त्यहाँ त्यस्तो देखिँदैन । घोराही सिमेन्टका सञ्चालकहरू पुरुषोत्तमलाल संघाई र सञ्जय वंशललगायतको भारतमा पनि कारोबार रहेको र त्यो कारोबार मिलान गर्न फर्जी बिलको प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।

कम्पनी स्रोतका अनुसार घोराही सिमेन्ट उद्योग सञ्चालनका लागि विभिन्न बैंकबाट १२ अर्ब रुपियाँ ऋण लिएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । सो ऋणको अधिकांश अंश सञ्चालकहरूले भारतमा लगेर लगानी गरेकाले नेपाली बैंकको ऋण व्यवस्थापन गर्न सर्वसाधारणलाई महँगो दरमा आईपीओ बिक्री गर्ने प्रयास देखिन्छ ।

कम्पनीको वित्तीय विवरणमै गलत तथ्य राखेको, सर्वसाधारणलाई झुक्याउने धितोपत्र बजारमा फर्जी आवेदन दिएको, कम्पनीको रेटिङमा चलखेल गरेकोलगायतका विषयमा नियमक निकायले अनुसन्धान शुरू गरिरहेका बेला कम्पनीको वित्तीय कारोबार पनि शंकाको घेरामा तानिएको छ । स्रोतका अनुसार कम्पनीमाथि विदेशी मुद्राको अपचलनदेखि कर छलीलगायतका कानुन आकर्षित हुने भएकाले सोहीअनुसारको अनुसन्धान गर्नुपर्नेमा जोड छ ।

नेपालमा विभिन्न उद्योग सञ्चालन गर्दै आएको विशाल तथा त्रिवेणी समूहको लगानी रहेको घोराही सिमेन्ट प्रकारणपश्चात् ती समूहका अन्य कारोबारसमेत शंकाको घेरामा तानिएका छन् । घोराही सिमेन्टको कारोबार कति लथालिङ्ग र शंकास्पद छ भने १२ अर्ब रुपियाँ ऋण भएको भनिएको कम्पनीको चालू आर्थिक वर्षको वित्तीय लागत १ अर्ब ८ करोड ६० लाख रुपियाँ देखाइएको छ ।

त्यस्तै, गत वर्ष जम्मा ३९ करोड रुपियाँ मात्रै कम्पनीले ब्याजमा खर्च गरेको देखिन्छ । १२ अर्ब रुपियाँ ऋणको दायित्व ३९ करोड रुपियाँ कसरी हुन्छ ? सञ्चालकले स्पष्ट गर्न सकेका छैनन् । कम्पनीमाथि पटक–पटक अनियमितता र नक्कली कामको आरोप लागेको बारेमा कम्पनीका सञ्चालकले आरोपको प्रस्टीकरण दिन भने खोज्दैनन् ।

नेपाल समाचारपत्रले कयौंपटक तपाईंको उद्योगको कारोबारमाथि यस्ता प्रश्न उठेका छन् । कम्पनीको धारणा के हो ? भनेर फोन तथा एसएमएस गर्दा आधिकारिक व्यक्तिले जवाफ नफर्काएर बिचौलियाहरू सम्पर्कमा आउने गरेका छन् ।