कांग्रेस र एमालेको विरोधका बाबजुद नगरसभाद्वारा १ अरब २४ करोड रूपियाँ बराबरको बजेट पारित



सिन्धुपाल्चोक । सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का जनप्रतिनिधिहरूको विरोधका बाबजुद नगरसभाद्वारा एक अरब २४ करोड बराबरको बजेट पारित गरिएको छ ।

आज (शुक्रबार) बसेको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको १४औँ नगरसभामा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूको विरोधका बाबजुद उक्त रकम बराबरको बजेट पारित गरिएको हो ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले संन्तुलित बजेट नल्याएको भन्दै उनीहरूले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए । कांग्रेर र एमालेका ८ जना वडाध्यक्षले नगरसभाको आरम्भमै नाराबाजी गरेका थिए । नाराबाजीकै बीच उनीहरूले उक्त सभा बहिस्कारसमेत गरेकाछन् ।

नगरप्रमुख सापकोटाले नगरको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नगरउपप्रमुख सीता थापालाई समय दिएलगत्तै कांग्रेस र एमालेका वडाअध्यहरूले सभामै नाराबाजी गरे ।

उपप्रमुख थापाले विरोधका बाबजुद आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी छन् । थापाले १४औँ नगरसभाले एक अरब २४ करोड रूपियाँ बराबरको बजेट विनियोजन गरेको भन्दै सभालाई जानकारी गराएकी थिइन् । योसँगै नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ ।

वडागत रूपमा पठाइएको बजेट सिलिङमा विभेद गरिएको, तोक आदेशमा बढी बजेट राखिएको भन्दै कांग्रेस र एमालेका वडाध्यक्षहरूले विरोध गरेका थिए ।

उनीहरूले असन्तुलित, समानान्तर सरकारको अभ्यास गरेको, विषयगत बजेट ब्रेकडाउन नगरी बजेट प्रस्तुत गरेको, वडाका लागि दुई करोड बजेट सिलिङ कायम गर्नुपर्नेलगायतका मागसहित नाराबाजी गरेका थिए । वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठले आफ्ना मागहरू सम्बोधन नभए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्