अबको समाजबारे सोचियोस्



नेपाली समाज कता जाँदै छ । यो आम नेपालीको चासोको विषय बनेको छ । हुनेखाने र पढेलेखेकाहरु अवसरको खोजीमा विदेशिने क्रम तीव्ररुपले बढेको छ भने श्रमका लागि विदेशिनेको संख्या पनि दिनदिनै बढेको बढ्यै छ । मुलुकमा रोजगारीका अवसर सिर्जना हुन नसक्दा विदेशिनेको संख्या अचाक्ली बढेको छ । नेपालीका लागि अहिले सपनाको संसार आकर्षक देशहरु हुन थालेका छन् । जसले गर्दा विदेशिनेको संख्या हरेक दिन बढ्दो अवस्थामा रहेको छ तर शासकहरु भने यसलाई नजरअन्दाज गर्दै आइरहेका छन् । उनीहरुको एउटै उद्देश्य र ध्याउन्न रहेको छ– कसरी आफू सत्तामा टिक्ने ? बेरोजगारी समस्याका कारण आम मानिसमा देखिएको नैराश्यता र विचलनलाई सम्बोधन गर्ने सरकार अहिलेसम्म देखा परेन भन्दा पनि फरक नपर्ला । मुलुकमा रोजगारी सिर्जना गर्नेभन्दा पनि सरकार विदेशी मुलुकसँग श्रम सम्झौता गरेर आफ्ना मानिसलाई बेच्न उद्यत भएको देखिन्छ । मुलुकलाई चाहिले दक्ष जनशक्ति बिस्तारै विदेशिने क्रम बढ्दो अवस्थामा रहेको छ । अवसरको खोजीमा रहेकाहरुलाई सरकारले नेपालमा अवसर दिन नसकेपछि त्यस्ता जनशक्तिको पलायनले मुलुकलाई कुन अवस्थामा लैजाला ? यस विषयमा अहिलेसम्म कुनै पनि शासकले सोचेको पाइँदैन ।

आफ्ना र वरपरका मानिसलाई अवसरै अवसर दिने सरकारले निमुखा तर अवसरको खोजीमा रहेकाहरुलाई बेवास्ता गर्ने परिपाटीले अबको समाज कस्तो होला ? यो चिन्ताको विषय भएको छ । मुलुक निर्माणको अभिभारा लिएका दलका नेताहरुको अहिलेको कार्यशैली हेर्ने हो भने यो मुलुक बन्ने कुनै लक्षण देखिँदैन । दलीय गतिविधि अहिलेको लागि दिक्क र पट्यार लाग्दो अवस्थामा पुगेको देखिन्छ तर राज्यको साँचो–चाबी लिएकाहरुले भने आफ्नो उडन्ते रटानलाई निरन्तरता दिएको पाइन्छ । कुनै पनि दलका नेतासँग जनताले आशा र भरोसा गर्ने खालको योजना छैन । एकले अर्कालाई खुइल्याउने र सत्तालाई निजी सम्पत्ति बनाउने ध्याउन्नमा नेताहरु रहेको देखिन्छ ।

दुई छिमेकी मुलुकले गरेको विकासका केही अंशहरुलाई मात्रै नेपालका दलका नेताले ध्यान दिने हो भने आशा गर्ने ठाउँहरु नभएका होइनन् तर उनीहरुसँग त्यस विषयमा सोच्ने फुर्सदसमेत देखिँदैन । आफ्नालाई अवसर दिन नेताहरुले जस्तोसुकै अवस्था सिर्जना भए पनि त्यसबाट पछि हटेको देखिँदैन । हरेक दलका नेताहरु मुलुकको हितका लागि भन्दा पनि आफ्नो हितका लागि तल्लीन हुँदा मुलुक बरबादीको बाटोतर्फ धकेलिएको छ । हरेक क्षेत्रमा समस्या नै समस्याले ग्रस्त मुलुकको गाँठो फुकाउने नेता नहुँदा त्यसको पीडा आम नेपालीले भोग्नुपरेको छ । राज्य जनताको अभिभावक बन्नुपर्ने थियो तर नेपालका कुनै पनि दलका नेताले अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा अहिले यो समस्या देखा परेको छ । त्यसैले यसतर्फ दलका नेताहरुको ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्