११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ११ वर्षपछि मिलनको संवाद शुरू भएको छ । विगतमा लामो समय एउटै राजनीतिक यात्रामा हिँडेका प्रचण्ड–विप्लवबीचको सम्बन्ध टुटेको ११ वर्षपछि फेरि मिलनको संवाद शुरू भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच बिहीबार औपचारिक भेटवार्ता भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइए पनि भविष्यमा पार्टी एकता नै गरेर जाने विषयमा समेत सकारात्मक छलफल भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको माओवादी केन्द्रका सचिव दिलाराम आचार्यले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘अहिलेको भेट समाजवादी मोर्चालाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ भन्नेमै केन्द्रित हो । तर, माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल शुरू भएको छ ।’

विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ । ‘संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने विप्लवले अन्ततः संसदीय व्यवस्थाको उपभोग गर्न माहिर खेलाडीहरूसँगको सहकार्यमा राजनीतिक यात्रा शुरू गर्नुभएको छ ।

वि. सं. २०६९ असारमा एकीकृत (माओवादी) बाट अलग भई मोहन वैद्यको नेतृत्वमा गठित नेकपा–माओवादीमा रहेका नेता विप्लवले २०७१ मंसिर ८ गते आफ्नै नेतृत्वमा नेकपा माओवादी पार्टी पुनर्गठन गर्नुभएको थियो । सोही वर्षको फागुनमा भएको आठौं महाअधिवेशनबाट उहाँ पार्टीको महासचिव निर्वाचित हुनुभएको थियो । त्यसयता माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध तिखो आलोचना गर्दै आएका विप्लव पछिल्लो केही समयदेखि उहाँहरूकै प्रशंसक बन्दै आउनुभएको छ ।

माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे कडा रूपमा प्रस्तुत हँुदै आएपछि विप्लवसँग प्रचण्डको सम्बन्ध सुधार हुन थालेको माओवादी नेता अनिल योगीले बताउनुभयो । विप्लव माओवादी आन्दोलनको एक हिस्सा भएकाले बदलिँदो परिवेशअनुसार उहाँलाई माओवादी केन्द्रले केही जिम्मेवारीसहित पार्टीमा ल्याउन चाहेको पनि योगीले नेपाल समाचारपत्रलाई बताउनुभयो । पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेताहरूलाई आलोचना गर्न छाडेर मोर्चा निर्माण गर्दै पार्टी एकतासम्म गर्न सकिने विषयमा सकारात्मक छलफल चलाएको विप्लव निकट एक नेताले बताए । ‘माओवादी संघर्षको विषयमा विप्लव अहिले पनि बचाउमा लागेर हिड्नुभएको छ,’ उनले भने–‘माओवादीकै नेताहरूमा सत्तामा पुगेपछि आन्दोलनका उपलब्धि र आगामी कार्यदिशाका बारेमा अलमल देखिएको छ । उहाँहरूले यसलाई सच्याएर जानसके विप्लवजी सहकार्य गर्ने कुरामा सकारात्मक हुनुहुन्छ ।’

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि विप्लवले सबैभन्दा बढी प्रचण्डकै प्रतिरक्षा गर्नुभएको थियो । उक्त मुद्दाका सन्दर्भमा सबै माओवादी एक भएमा पहिलो शक्ति हुने विप्लवको धारणा बाहिरिएसँगै संवादको ढोका खुलेपछि प्रचण्ड–विप्लवबीच बिहीबार भएको पहिलो औपचारिक भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

१० वर्षे संघर्षका सहयात्री प्रचण्ड–विप्लव र बाबुराम पुनः एकै ठाउँमा आउन चाहे पनि केही दिनअघि बनेको समाजवादी मोर्चामा जसपाका कारण बाबुराम अट्न सकेका छैनन् । पछिल्लो समय विप्लव पनि नेपालमा संसदीय राजनीतिको विकल्प नभएको निष्कर्षका साथ समाजवादी मोर्चा हुँदै पार्टी एकताको मार्गमा लागेको हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रचण्डले विप्लव नेतृत्वको नेकपालाई माओवादी केन्द्रमै समायोजन गराएर आगामी निर्वाचन निर्वाचनमा सहभागी गराउनेसम्मको छलफल शुरू भएको श्रोतको दाबी छ ।

संसदीय राजनीतिको उपभोग गरिरहेका माओवादी, एसमाजवादी र जसपा समेतको समाजवादी मोर्चामा सहभागी भएसँगै विप्लव संसदीय राजनीतिमा प्रवेश गरेको विश्लेषणहरू भइरहेका छन् । यसमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले महत्वपूर्ण भूमिका रहेकोे छ । समाजवादी मोर्चा निर्माणपूर्व महरा र ‘विप्लव’ बीच नियमित संवाद हुनेगरेको थियो । महराकै सक्रियतामा प्रचण्डसँग संवादको अवस्थामा आइपुगेका विप्लव केही समयमा माओवादी केन्द्रमा भित्रिने माओवादी निकट स्रोतको दाबी छ ।

गत सोमबार बनेको चार दलीय समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायत शक्तिसँग संवाद भए पनि जसपाबाट फुटेका बाबुराम भट्टराईलाई उक्त मोर्चामा ल्याउन उपेन्द्र यादव अनिच्छुक देखिएपछि उहाँ समाजवादी मोर्चामा छुट्नुभएको हो ।