एकल महिलाको व्यथामा सरोज खनालको बगान

0
Shares

अभिनेता सरोज खनालको निर्देशनमा बनेको ठूलो पर्दाको पहिलो फिल्म बगानको टिजर सार्वजनिक गरिएको छ।

आगामी असार २९ गते रिलिज हुने फिल्मको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा प्रस्तुत गरिएको छ। एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारजस्ता विषय प्रस्तुत गरिएको टिजरमा अभिनेत्री मानन्धर दमदार देखिएकी छिन्। लामो समयको अन्तरालपछि पर्दामा देखिएकी उनी टिजरमा बोल्ड देखिएकी छन्।

एक मिनेट १३ सेकेन्डको टिजरमा फिल्मका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठलाई पनि देखाइएको छ। स्वप्न नीरवको कथामा आधारित फिल्मबाट अभिनेता तथा रंगकर्मी खनालले निर्देशनमा डेब्यु गरेका छन्। यसअघि, उनले छोटो फिल्म बिहानै अस्ताएको सूर्य निर्देशन गरेका थिए। उक्त छोटो फिल्मबाट कुशल अभिनेता तथा रंगकर्मी खनालले निर्देशनमा पनि कुशलता प्रदर्शन गरेका थिए।

नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा सुरेश वाग्लेद्वारा निर्मित फिल्ममा विनोद मानन्धर कार्यकारी निर्माता रहेका छन्। फिल्ममा सुरेश वाग्लेको गीत, हरि लम्साल र सुवास भुसालको संगीत, सुगम पोखरेल, अञ्जु पन्त, अस्मिता अधिकारी र बानिका प्रधानको स्वर, गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन तथा अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ।

फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहेका विभिन्न देशमा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाडौं उपत्यका तथा बाहिर एफडी कम्पनीले गर्दैछ।