मंकीपक्सको परीक्षण र उपचारमा अलमल

0
Shares

विश्वमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । नयाँ रोगका बारेमा आफ्ना नागरिकलाई सूचना दिनु सरकारको दायित्व पनि हो ।६० वर्षीया ती विदेशी महिलामा पुष्टि भएको मंकीपक्सको परीक्षण कहाँ गरियो, सर्वसाधारणले यो रोग हो या होइन पत्ता लगाउन सहजै जाने निकाय कहाँ तय गरिएको छ भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्छ । मंकीपक्स पुष्टि भएकी विदेशी नागरिक कुन देशकी हुन् ? भर्खर नेपाल प्रवेश गरेकी हुन् वा पहिलेदेखि नै नेपालमा बस्दै आएकी थिइन्?उनलाई कहाँ राखेर कसरी उपचार गरिँदै छ र उनको अवस्था के छ ? यावत् प्रश्नको उत्तर आउने गरी सूचना सार्वजनिक गर्नुपर्छ । सरकारको काम सूचना दिएर नागरिकलाई त्रसित बनाउने हैन, समाधानको बाटो खुल्ला गर्ने र जनचेतना जगाउने हो ।

गतवर्ष ७५ देशका १६ हजार जनामा यो भाइरस पुष्टि भएपछि विश्व स्वास्थ संगठनले ‘विश्वव्यापी जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो । यसै क्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्वीट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेनलगायतका देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पुष्टि गरेको छ । तर अहिलेसम्म कुनै पनि नेपालीमा मंकीपक्स पुष्टि भएको छैन । यसो भन्दैमा कसैलाई पनि यो रोग लागेकै छैन भन्न सक्ने अवस्था छैन । सरकारले कहाँ परीक्षण हुन्छ र कस्तो उपचार गर्ने भन्ने आधिकारिक स्थान अहिलेसम्म तोकेकै छैन भने कसरी रोग लागेको पुष्टि हुन्छ ?

मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीर चिलाउने, खटिरा वा दाग देखिने र गुप्तांगमा बढी संक्रमण हुने र जीउभरि फैलिने, ज्वरो आउने, जीउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखापर्न थाल्छन् । मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउलाजस्तै देखिने पानी भरिएको फोका हुन्छ । योएकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट सर्छ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । यसका साथै संक्रमित जनावरहरू जस्तै– बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्छ । त्यस्तै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा सर्न सक्छ ।

यस्तो रोग फैलने मुख्य माध्यम एक ठाउँबाट अर्को ठाउँको यात्रा नै हो । मंकीपक्स चिकेनपक्ससँग मिल्दोजुल्दो भएकाले झुक्किनसक्ने सम्भावना पनि उत्तिकै छ ।यो रोग २१ दिनपछि बिस्तारै निको हुँदै जाने हुनाले मानिसले झट्ट बाहिर ल्याउँदैनन् । लाज, समाजले हेर्ने दृष्टिकोण अनि राज्यले परीक्षणगर्ने स्थान नतोकेकोले सचेत र पहुँच भएका व्यक्ति छाला तथा यौनरोग विशेषज्ञकोमा पुगेर उपचार गराउने सम्भावना बढी रहेको स्वास्थ्य विज्ञहरुको ठम्याइ छ । विदेशी नागरिक भएकाले मात्र रोगको पहिचानका लागि अहिले आफैँ परीक्षणको दायरामा पुगेकी हुन् । आम नेपालीले त्यसरी खोजेर उपचारको पहुँचमा पुग्ने सम्भावना छैन । सरकारले यतातर्फ ध्यान दिई जनचेतना फैलाउँदै उपचार केन्द्रहरु सहज र सर्वसुलभ बनाओस् ।