कामपाको नयाँ योजना- वार्षिक ५ हजारलाई रोजगारी, सबै वडामा सुलभ फार्मेसी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिनेगरी नीति तथा योजना सार्वजनिक गरेको छ । हिजो बुधबार आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साहले ३२ वटै वडामा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी र वार्षिक एक लाख वृक्षरोपण गर्नेलगायतका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ ।

सांस्कृतिक शहर र समृद्ध महानगरको दीर्घकालीन सोच रहेको जिकिर गर्दै मेयर साहले सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदीनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

१९ पेज लामो नीति तथा कार्यक्रममा महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक पालिकामा एग्रोपुलिङ सुरुवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाई पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख छ ।

सार्वजनिक यातायात तथा सवारी पार्किङ र महानगरको सेवाप्रवाह पूर्ण डिजिटल बनाइने, महानगरको सेवामा होम डेलिभरी, ई–रेन्टल, मेट्रोमार्ट सञ्चालनमा आउने, राजस्व परिचालन अभियान सञ्चालनमा ल्याई आन्तरिक राजस्व उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको बताइएको छ । महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सडकहरू पक्की सडकमा रूपान्तरण गर्ने, पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पूर्ण सडकहरूलाई खाल्डाखुल्डीरहित बनाउने, सम्भव भएसम्म एक वडा एक खेल मैदान, एक वडा एक पार्क निर्माण गर्ने लक्ष्य कामपाको रहेको मेयर बालेनले बताउनुभयो ।

नीति तथा कार्यक्रममा महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने गरी ३ वर्षभित्रमा १० वटा महानगर गौरवका योजना सम्पन्न हुने उल्लेख छ । उक्त योजनामार्फत प्रमुख समस्याहरूको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गरिनेछ ।

नीति तथा योजनामा महानगरवासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न तथा प्रभावकारी सेवा प्रवाह गर्न र शहरी शासनका सवालहरूमा दिगो व्यवस्थापनका लागि आवश्यक योजनाहरूलाई महानगर स्वर्णिम योजनाका रूपमा स्वचालित संयन्त्र बनाई सञ्चालन गरिने पनि उल्लेख छ ।

महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न फ्रेमवर्क र सूचकमा आधारित लक्ष्यहरू निर्धारण गरी स्थानीय टोलहरूलाई क्रमशः स्मार्ट टोलका रूपमा विकसित गर्न आवश्यक बजेट विनियोजन गरिने उल्लेख गर्नुभएको छ ।

मेयर साहले एक वर्षे कार्यकालमा सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन बुक फ्रि फ्राइडे कार्यक्रम लागु भएको, १२ हजार ९ सय ७० जना संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृति उपलब्ध गर्न सफल भएको, ९ हजार १ सय ७० जना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको, तार व्यवस्थापन, गोंगबु बसपार्कबाट मात्रै लामो र छोटो दूरीका बस सञ्चालन गर्ने व्यवस्था गरेको, लोकसेवा आयोग तथा सुरक्षा निकायको सूचीमा रहेका इन्जिनियर र प्रहरीलाई करार सेवामा नियुक्ति, १ लाख ८० हजार ७ सय ५६ वर्गफिट कालोपत्रे क्षेत्रमा रहेको पार्किङ हटाई सवारी आवागमनलाई सहज बनाइएको, १६ हजार ७ सय ५७ सवारी कारबाही गरिएको, १८ हजार ९ सय ८३ होर्डिङबोर्ड तथा परिचयपाटी हटाई शहरी सौन्दर्य र सुव्यवस्था कायम गरिएको जानकारी दिनुभयो ।

महानगरले आगामी वर्षको लागि गौरव, स्वर्णिम र प्राथमिकता प्राप्त योजनालाई वर्गीकरण गरेको छ । नीति तथा कार्यक्रममा ‘गरिखाने शिक्षा महानगरको इच्छा’, सुन्दर विद्यालय, एक विद्यालय एक नर्स, एक विद्यालय एक सामाजिक सहजकर्ता, सुलभ स्वाथ्य सेवा, नागरिक टेवा, धुलोरहित काठमाडौं, उज्यालो शहर, मेरो महानगर, ‘संस्कृति सम्पदा र पर्यटन ः महानगरको धन’, नदी सरसफाई, न्याय चौतारी, साथी महानगर, एग्रो पुलिङ, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, डुबान समाधान, सुशासनको लागि अनलाइन सेवा, महानगरले देख्छ, ‘मेरो रहर ः हरित शहर’, ‘मिसन २१००’ लगायत नयाँ योजना, कार्यक्रम र परियोजना सार्वजनिक गरिएको छ । कामपाको नीति पास भएपछि यही असार १० गते बजेट सार्वजनिक हुनेछ ।