पुराना टायर डेंगुका ‘कारखाना’

0
Shares

हेटौंडा ।

डेंगु फैलाउने लामखुट्टेका जीवाणु गाडीका पुराना टायरमा सबभन्दा बढी भेटिएका छन् । मानिसले प्रयाग गर्दै आएका खानेपानी ट्यांकी, पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटरलगायतमा पनि त्यस्ता प्रजातिका लामखुट्टेका जीवाणु पाइएका हुन् ।

वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडासँगको सम्झौताअनुसार गरेको अध्ययनको निष्कर्षमा उक्त तथ्य देखिएको हो । बुधबार सार्वजनिक गरिएको प्रदेशका ५ जिल्लाको स्थलगत अध्ययनको निष्कर्षअनुसार घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगु फैलाउने लामखुट्टेका जीवाणु पाइने आमधारणाविपरीत घरभित्रका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेंगुका जीवाणु पाइएको देखाएको छ ।

केन्द्रका जुनियर इन्टेमोलोजिष्ट दीपककुमार साहका अनुसार अध्ययन गरिएका ५ सय ४७ घुरधुरीमध्ये १ हजार ६ सय २३ पानी भरिएका भाँडा निरीक्षण गरिएकोमा १ सय ३३ घरधुरीका १ सय ७० पानी भरिएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जीवाणु भेटिएका थिए ।

 हेटौंडा डेंगुको जाखिमयुक्त क्षेत्र हो । यहाँ गाडी मर्मत केन्द्र, रंगरोगन केन्द्र र सामान बिक्री केन्द्रलगायत ५ थरिका व्यवसाय गरिएका २ सय वटाजति ग्यारेज छन् । ती व्यवसाय आवश्यक रहे पनि अव्यवस्थित रहेको भन्दै हेटौंडामा एकीकृत अटोल्याण्ड निर्माण प्रक्रियामा छ ।

हाल जमिन सम्याउने काम सम्पन्न भएको र बाँकी कामका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा रकम माग गरिएको हेटौंडा उपमहानगरका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रकमको प्रस्ताव नगरसभाबाट पारित भएपछि अटोल्याण्ड निर्माणले पूर्णता पाउने छ ।

हेटौंडामा आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९५ जनामा डेंगु संक्रमण रहे पनि चालु आर्थिक वर्ष २०७९÷०८० को एक महिनामै ५ सय ५८ संक्रमित देखिएका थिए । चालु आर्थिक वर्षको संक्रमणदरअनुसार हेटौंडा–४ मा करिब ३ सय र वडा–५ मा एक सय जनामा डेंगु संक्रमण देखिएको थियो । हेटौंडा–४ मा डेंगुका बिरामी उपचारपछि निको भए पनि दोहोरिएर संक्रमण भएको तथ्य फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फैलिने गरेको डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरको जनस्वास्थ्य शाखाले नगरभर डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो । तर, उक्त अभियान त्यति सफल देखिएको छैन ।

प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार चालु आवको हालसम्म डेंगुका ४२ हजार ४ सय ५९ बिरामी फेला परेका छन् । जसमध्ये २७ जनाको मृत्यु भएको छ । डेंगुका बिरामी सबभन्दा बढी काठमाडौंमा १४ हजार ५ सय फेला पर्दा सबभन्दा कम रसुवामा रहेको मन्त्रालयको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्ट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा. रविन भुसाल, किरण श्रेष्ठलगायतले अध्ययनले डेंगु प्रभाव र यसविरुद्ध चाल्नुपर्ने कदम जस्ता क्षेत्रमा नीतिगत् र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताउनुभयो ।