पर्यटकको पखाईमा महतगाँउ

0
Shares

सुर्खेत  । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको रुकुम पूर्वको भूमे गाउँपालिकाको वडा नम्बर ६ मा पर्यटकको पर्खाइमा रहेको छ । युद्ध पर्यटनको विकास भएको गाउँ हो महतगाउँ  माओवादी आन्दोलनको दश वर्षे लामो जनयुद्धको केन्द्रविन्दुमै रहेको महतगाँउले धेरै माओवादी जन्मायो । युद्ध र शान्तिको सरगम (युद्ध पर्यटनको विकास) का रूपमा रहेको यो गाउँ पर्यटकहरूको मनै लोभ्याउने गरी उभिएको छ । विगत युद्धको वेला माओवादी नेताहरूको लागि सुरक्षित स्थान मानिएको महतगाउँ अहिले तीनै नेताको प्रतीक्षा रहेको छ ।

रुकुम(पूर्व) को भूमे गाउँपालिका ६ नम्बर वडामा पर्ने महत गाउँ निकै चर्चित नाम हो । महत पुगेपछि युद्धको गहिरो अध्ययन गर्न सहज बनाइदिन्छ युद्ध पर्यटनले  । यो गाउँपालिकामा मगरहरूको बहुमूल्यता छ भने अन्य जातिको पनि मिश्रित बसोबास छ । एकातिर मगर समुदायको सांस्कृतिक बस्ती महत, अर्कोतिर जनयुद्धको ऐतिहासिक स्थल पनि भएकाले युद्ध पर्यटनको केन्द्र बन्न पुगेको छ ।

जहाँ तत्कालीन उपराष्ट्रपति तथा जनसेनाका कमान्डर नन्द किशोर पुन (पासाङ) नेतृत्वमा महत गाउँमा रहेको प्रहरी चौकी माथि गरिएको आक्रमणको तयारी र अवस्थाका बारेमा युद्ध स्मारिका स्थल नै बनेको छ । उक्त युद्ध स्मारिका स्थल हेर्नका लागि हामी महत गाउँतर्फ धेरै मानिसहरू आन्तरिक तथा बाह्य पर्यटकका रूपमा दैनिक जसो आउने गर्दछन् ।

तत्कालीन समयमा यो महागाउँ निकै चर्चाको विषय पनि बनेको थियो । माओवादीले आफ्नो युद्ध अवधिका समयमा लडाइमा गरेको महत्त्वपूर्ण सफलता मध्येको एउटा महत गाउँ पनि थियो । जहाँ तत्कालीन समयमा सरकारी सुरक्षा निकायको सबैभन्दा उच्च ओहदाका व्यक्ति डिएसपी ठुले राई लाई कब्जा गरिएको थियो । जनमुक्ति सेना नेपालद्वारा २०५६ साल असोज ५ गते महत प्रहरी चौकीको सफल आक्रमण पछि तत्कालीन डिएसपी ठुले राई लाई युद्ध वन्दी नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य (हालका महासचिव) देव गुरुङसँग साटेर रिहाइ गरेकोले पनि महत चर्चामै रहेको थियो ।

महत प्रहरी चौकीको आक्रमण सम्बन्धी वास्तविक र ऐतिहासिक घटनालाई परिकल्पना गरेर बनाइएको युद्ध स्मारिका स्थल रहेको युद्ध स्मारकका साथै महत प्रहरी चौकी र चौकी कब्जाको स्टयाचु अहिले पनि सजिलै अवलोकन गर्न सकिन्छ । यो युद्ध स्मारिका स्थल अझ भनौँ, युद्ध पर्यटन र युद्ध पत्रकारिता गर्नेहरूका लागि त झन् अवलोकन गर्नै पर्ने स्थान हो । जहाँ गुरिल्ला मार्ग, विगत द्वन्द्वको समयमा यो गाउँमा भएका युद्ध अभ्यासका बारेमा स्थानीयहरूसँग सजिलै जानकारी लिन सकिन्छ । त्यहाँ पुग्ने जोकोहीले पनि युद्ध स्मारिका स्थलको गहिरो स्थलगत अध्ययन गर्न खोज्छन् । पर्यटकको मन लोभ्याउन महतले त्यहाँ पुग्दा मोबाइल र क्यामेराहरि फुस्र्याउँदै फोटो, भिडियो र टिकटक बनाउन समेत उत्साह जगाउँछ पर्यटकहरूलाई ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ठुलो जोखिम मोलेको महतगाउँ रुकुम पूर्वको युद्ध पर्यटनको विकासमा राम्रो सम्भावना बोकेको छ ।
लोकतन्त्र स्थापनाको लागि विद्रोहको थालनी भएको यस जिल्लाले युद्ध पर्यटनको ठुलो सम्भावना बोकेको छ । सङ्घीयताको कार्यान्वयन पछि स्थानीय सरकारको स्थापनापछि विभिन्न ठाउँमा युद्ध पर्यटनको रूपमा विकास पनि गरिँदै लगिएको छ ।  जनताको आगमनमा सरकार आएपछि रुकुम पूर्वमा युद्ध पर्यटनको विकासले अझ गति लिएको हो । नमुना युद्ध पर्यटनको केन्द्र बन्न थालेपछि महतगाउँ पछिल्लो समय धेरै आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

(पूर्व) को भूमे गाउँपालिका ६ नम्बर वडामा पर्ने महत गाउँ निकै चर्चित नाम हो । दश वर्षे जनयुद्धताका महतमा ठुला ठुला भिडन्त भएका थिए । यही भिडन्तमा परि राज्य पक्षका ५२ र माओवादीका ६ जना गरी ५८ जनाले ज्यान गुमाएको नेपाल पत्रकार महासंघका रुकुमपुर्वका उपाध्यक्ष सिर्जना कार्कीले बताइन ।  उनका अनुसार युद्धका वेला महत नजिकैको लाबाङमा त्यति बेला माओवादीको चर्चित बैठक सम्पन्न भएको थियो । जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यही भए र सैन्य कार्यालयहरू यही खडा गरिएका थिए ।

यही ऐतिहासिक ठाउँलाई अहिले युद्ध पर्यटनको रूपमा विकास गरिँदै लगिएको छ । महतको गाउँ भन्दा मातिफट्टी डाँडामा युद्ध फिचर(स्यान्ड मोडेल) को निर्माण गरिएको छ । महतलाई युद्ध स्मारिकाको रूपमा परिचित गराउन प्रतिनिधि पात्रको रूपमा मुख्य लडाकुहरूको मोडेल तयार गरिएको छ । स्यान्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ तथा अन्य सहायक कमान्डर गरी जम्मा १३ जना र प्रहरीतर्फ डिएसपी ठुले राइसहित ७ जना गरी २० जनाको मोडल निर्माण भएको छ । यस स्यान्ड माडलेले यहाँ आउने पर्यटकलाई माओवादी जनयुद्धको जीवन्त अनुभूति गराउँछ ।

ऐतिहासिक गाउँ महतलाई अहिले युद्ध पर्यटनको विकास गरिँदै छ । महत आक्रमणमा भएका तयारीलाई  झल्काउने स्यान्ड मोडेलहरूलाई सहजै हेर्न सकिन्छ । भूमे गाँउपालिकाका पहिलो कार्यकालका अध्यक्ष र उपाध्यक्ष दुबै जना जनमुक्ति सेना भएको कारणले पनि यसको विकास गर्नमा सहज भएको युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगर वताउँछन्। उनका अनुसार ठुले राईले माओवादी लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको दृश्य पनि युद्ध फिचरमा समेटिएको छ ।

“ महतको ऐतिहासिकतालाई झल्काउने खालका युद्ध पर्यटनका बिम्ब निमार्ण भएका छन्, युद्ध बुझेको नेतृत्व भएकाले युद्ध पर्यटनको विकास गर्न सहज भयो, युद्ध पर्यटनले गर्दा गाउँमा आउने पर्यटकहरूले गाउँ नै रमाइलो बनाउँछ ” बुढा भन्छन् । यहाँको युद्ध पर्यटनको सम्भावनालाई ध्यान दिएर युद्ध फिचर निर्माणलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको उनी वताउँछन् ।  महतमा युद्ध फिचरलाई हेर्नका लागि आन्तरिक पर्यटकहरूको रोजाइको केन्द्र यो ठाउँ बन्न पुगेको छ । छिमेकी जिल्लाहरूबाट यही युद्ध फिचर हेर्न मानिसहरू आउने गरेका छन् भने विद्यार्थीहरूको लागि शैक्षिक भ्रमणको गन्तव्य बनेको छ ।

युद्ध र शान्तिको अध्ययन गर्न चाहनेका लागि यो गाउँ गजबको सरगम बनाउने प्रयास भइरहेको छ । गाउँको प्रवेशद्वारमै शान्तिका प्रतिमूर्ति गौतम बुद्धको स्मारक  पनि बनाइएको छ । महतले युद्धको मात्र होइन शान्तिको सन्देश दिएको छ प्रवेशद्वारमै गौतम वुद्धको स्मारक बनाएर । जिल्ला एउटै हुँदाका जिल्ला विकास समिति रुकुमका तत्कालीन स्थानीय विकास अधिकारी भरतकुमार शर्माको कल्पना अनुसार महतमा बुद्धको मूर्ति पनि निर्माण गरिएको हो । शर्मा हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहकार छन् ।
के हो महत ?

महत गाउँको खास नाम ‘मैगाउँ’ थियो । मैगाउँलाई खाम भाषामा ‘मैनाखार’ भनिन्छ । यो ठाउँमा पहिला प्रशस्तै मात्रामा बाझका रुखहरु थिए । बाझको रुखहरूको बिचमा घरहरू थिए । त्यसैले ‘मैनाखार’ भन्ने गरेको समितिका अध्यक्ष कमल बुढा मगर वताउँछन् । ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ हो । पछि रुकुम अड्डा भइसकेपछि मगरहरू अर्थात् मतवाल बस्ने रहिछन् भनेर यो गाउँको नाम ‘महत’ रहन गएको हुनसक्ने उनको अनुमान छ । पहिला महत सिङ्गो गाविस थियो भने अहिले भूमे गाउँपालिकाको तीन वटा वडामा बाँडिएको छ ।

मुख्य महत वडा नम्बर ६ नम्बरमा पर्दछ ।रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट करिब दुई घण्टामा गाडीको यात्रा गरेपछि महतगाँउ आउछ । महतमा रमाएपछि नजिकै रहेको थवाङ्ग  जान धेरैलाई मन लाग्छ । महागाउँबाट करिव २०-२५ मिनेट नजिकै रहेको तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धको उद्गम थलोको रूपमा रहेको रोल्पाको थवाङ्ग पनि पर्यटकलाई पर्खिरहेको हुन्छ ।