अन्तर्राष्ट्रिय योग दिवसमा विपन्न छात्रालाई छात्रवृत्ति 



काभ्रे। 

पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकु मञ्चमा योग शिविर तथा विपन्न छात्राहरुलाई शैक्षिक सामाग्री र सहयोगीहरूलाई सम्मान गरिएको छ । योग शिविरमा योगका विभिन्न प्रोटोकलमा अभ्यास गराइएको थियो ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सहयोगीहरूलाई सम्मान गर्दै पतञ्जलि योग समितिले वितरण गरेको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो ।

बनेपाको आजाद, चैतन्य, हिमालय, शिक्षा सदन, भक्तेश्वर, चण्डेश्वरी, महेन्द्र मावि लगायतका ९ वटा विद्यालयका ९ जना छात्राले शैक्षिक सामाग्री सहितको छात्रवृत्ति प्राप्त गर्नु भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाबाट पहिलो पटक नेपाल उद्योग वाणिज्य संघमा उपाध्यक्षमा विजयी हुनु भएका बनेपाका सुरकृष्ण वैद्यलाई पनि सोही अवसरमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । वैद्यलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्व हुने गरी धितो पत्र बोर्डमा नियुक्त गरिएको छ ।

दुई दशक भन्दा लामो समय देखि बनेपामा योग संचालन गर्दै आएको पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकले विपतको समयमा मानवीय सेवा, भुकम्पको समयमा उद्दार, राहत र उपचार तथा पुनर्स्थापना, बाढी पहिरोको समयमा राहत तथा कोरोना लगायतका विपद्मा सहयोग पु¥याएको छ । 

नवौ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्य, पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ लगायतले योगको माध्यमबाट समुदायमा सकारात्मक सन्देश, सकारात्मक सोचका साथै विभिन्न रोगहरुको निदान र व्यक्तिलाई निरन्तर स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो ।

योग दिवस मनाउन जिल्लाका विभिन्न योग सेन्टरबाट शिक्षक शिक्षिका तथा योग साधकहरु सहभागी भएका थिए । योग दिवसमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्