जलवायु परिवर्तन सम्बन्धी तीन दिने क्षेत्रीय सम्मेलन सुरु

0
Shares

काठमाडौँ। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय युवा परिषद–नेपाल, युवा विकास केन्द्र तथा लैण्ड आवर फ्युचर नामक संस्थाहरुको संयुक्त आयोजनामा आज (मंगलवार) राजधानीमा सुरु भएको तीन दिवसीय दक्षिण एसियाली पर्यावरणीय कार्य–सम्मेलन–२०२३ को उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि उपराष्टपति यादवले जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभरी देखा परेका समस्याहरुको पहिचान र तिनको निराकरणका लागि ठोस कार्ययोजना बनाउन सम्मेलन सफल होस् भन्ने शुभकामना दिनुभएको छ । सार्कका सदस्य राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान तथा माल्दिभ्सका प्रतिनिधिहरुको सहभागिता रहेको सो जलवायु सम्बन्धी क्षेत्रीय सम्मेलनबाट दक्षिण एसियाली देशहरुबीचको सम्बन्धलाई थप सुदृढ, प्रगाढ र आत्मीय बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनको अध्यक्षता गर्नुहुने पूर्व वातावरण मन्त्री सुनिलकुमार मानन्धरले जलवायु सम्बन्धी समस्या मानिसद्वारा प्रकृतिको अति दोहन तथा चरम भौतिकवादी सोचका कारण उत्पन्न भएको कुरा औंल्याउंदै मानिसले आफ्ना असीमित इच्छा, आकाङ्क्षामाथि अंकुश लगाउँदै प्रकृति र जीवनवीच समन्वय र सन्तुलन कायम राख्न सकेमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विभिन्न प्रकारका प्राकृतिक प्रकोपका घटनाहरुलाई न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तन आजको जल्दोवल्दो समस्या भएको विचार व्यक्त गर्दै सो सम्बन्धी समस्याको निराकरण गर्न क्षेत्रीय सहयोग तथा सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

सो सम्मेलनमा दक्षिण एशियाका सात राष्ट्रका करिब १०० प्रतिनिधिहरुको सहभागिता रहेको छ।