भारतको संसद् भवनको नक्साबारे महत्वपूर्ण कुरा



भारतको नवनिर्मित संसद् भवनमा राखिएको नक्साबारे नेपालका साथै पाकिस्तान र बंगलादेशमा पनि असन्तुष्टि देखिएपछि भारतका विदेशमन्त्री जयशंकरले सार्वजनिक रुपमा स्पष्टीकरण दिएका छन् कि ‘यो भारतको राजनीतिक नक्सा होइन, यसको देशको सीमा र राजनीतिसँग केही सम्बन्ध छैन, यो त मौर्यकालीन भारतको सांस्कृतिक नक्सा हो, यसमा कसैले अन्यथा शंका गर्नुपर्दैन’ ।

तर यति भनिदिँदैमा छिमेकीहरूको गुनासो मेटिन्छ भन्ने विश्वस्त हुने अवस्था छैन । किनकि नक्सामा केही स्थानहरूको अवस्थिति सही छैन भने मौर्य साम्राज्यको अधीन नरहेका भूभागहरूको रंगमा पनि कुनै अन्तर पारिएको छैन, सबै एकै समान एकै साम्राज्यको अन्तर्गत देखिन्छ ।

 त्यसै गरी यो एक ऐतिहासिक सांस्कृतिक नक्सा हो भन्ने कुरा पनि कतै उल्लेख छैन । यसले गर्दा इतिहास नबुझेका नयाँ पुस्ताले यो नक्सा देख्दा भारतीय भूगोलबारे भ्रममा पर्न सक्छन् र नेपालजस्तो देशलाई आफ्नै देश आफ्नै भूभाग ठान्ने भूल गर्न सक्छन् । र, यो समस्या सधैँ रहिरहनेछ ।

त्यसैले उनको स्पष्टीकरणलाई सत्य मान्ने हो भने पनि उक्त नक्सामा कमसेकम दुईवटा संशोधन गर्नुपर्ने अनिवार्य देखिन्छ । पहिलो, यदि भारतले उही नामले कुनै नक्कली शहर बनाएको छैन भने नक्सामा नेपालका ऐतिहासिक शहरहरू विराटनगर, लुम्बिनी र कपिलवस्तुको अवस्थिति गलत देखाइएको रहेछ, जसलाई सच्याउनुपर्छ ।

विराटनगर पश्चिममा होइन, पूर्वतिर नेपालभित्र पर्छ । साथै लुम्बिनी र कपिलवस्तु पनि अझ उत्तरतिर नेपालभित्र सार्नुपर्छ । पाकिस्तान र बंगलादेशका शहरहरूको अवस्थिति पनि त्रुटिपूर्ण भए सच्याउनुपर्छ । साथै भारतबाहिर पर्ने भूमिको रंग पनि भारतको भन्दा फरक सम्बन्धित देशको रंगसँग मिलाएर राखिदिए राम्रो हुनेछ ।

दोस्रो, यो नक्साको तल ‘द हिस्टोरिकल डिपिक्सन अफ द मौर्य इरा भारत’ (The Historical Depiction of the Maurya Era Bharat) भन्ने लेख्नुपर्छ । यहाँ मौर्य साम्राज्यको सवंत् पनि खुलाइदिए अझ सुनमा सुगन्ध हुनेछ ।
– सी.एन. खड्गा

[email protected]

प्रतिक्रिया दिनुहोस्