ताप्लेजुङमा तीनको मृत्यु, तीन बेपत्ता

चार करोडभन्दा बढी क्षति

0
Shares

ताप्लेजुङ । निरन्तर वर्षासँगै गएको बाढीपहिरोमा परेर ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ, भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै, एकको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । आइतबार सोही गाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) राजन लिम्बुका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उहाँहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

त्यस्तै, सोही पहिरोमा परी गम्भीर घाइते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर लगिएको जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले जानकारी दिनुभयो । यता वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिनुभयो ।

चार करोडभन्दा बढी क्षति

निरन्तर वर्षाका कारण ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा विभिन्न संरचनामा क्षति हँुदा चार करोडभन्दा बढी क्षति भएको छ । ७४ घरपरिवार खानेपानी प्रभावित भएका छन् ।

गाउँपालिकाका विभिन्न संरचनाहरूमा क्षति हँुदा करिब ४ करोड १५ लाख रुपियाँ क्षति भएको गाउँपालिकाले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ । मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने सडक क्षति हँुदा करिब ३० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

मेरिङदेन, मैवाखोला र आठराई त्रिवेणी जोड्ने मोटरेबल पुल बाढीपहिरोले क्षति गर्दा ५० लाख रुपियाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । कृषि थोक बजार १० लाख, निर्माणाधीन कवर्डहलमा आंशिक क्षति हुँदा १५ लाख र खेल मैदान १० लाख रुपियाँ बराबरको क्षति भएको गाउँपालिकाको विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन भएका आयोजनाहरू ग्याबिन, वाललगायतका संरचनाहरूबाट करिब ३ करोड रुपियाँ बारबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

बाढीपहिरोले खानेपानीका स्रोतहरू क्षति पु¥याएसँगै सर्वसाधारण खानेपानीबाट वञ्चित हुन पुगेका छन् । गाउँपालिकाका भिन्न वडाहरूमा खानेपानीका स्रोतमा क्षति पुग्नुका साथै खानेपानी आपूर्तिमा समस्या भएको गाउँपालिकाले जनाएको छ । धेरै ठाउँमा खानेपानीका पाइप बाढीपहिरोले बगाएपछि सर्वसाधारण खानेपानी प्रभावित भएको मेरिङदेन गाउँपालिकाले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख गरेको छ ।

गाउँपालिकाका अनुसार तीन घरपरिवार पहिरोबाट प्रभावित भएका छन् भने बाढीबाट २७ घरपरिवार प्रभावित भएका छन् । मेरिङदेन–२ र मैवाखोला गाउँपालिका–१ जोड्ने हाङ्गुवा खोलामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । पुल पूर्णरुपमा क्षति हुँदा आउजाउ गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।

पाढीपहिरोबाट ६० भन्दा बढी प्रभावित परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने केही आफन्तहरूको घरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । ताप्लेजुङको विभिन्न क्षेत्रहरूमा सडक अवरुद्ध भएको छ । मोटरेबल पुलहरू पूर्णरूपमा क्षति भएको छ । यातायातका साधनहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अझै पनि वर्षा हुने क्रम रोकिएको छैन ।