संखुवासभा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ पुग्यो, अझै २० जना सम्पर्कविहीन

0
Shares

संखुवासभा । बाढी र पहिरोमा परी सम्पर्कविहीन भएका २१ जनामध्ये सोमबार हेवा खोला किनारमा १ जनाको कम्मरमुनि आधा शरीर भएको अवस्थामा शव फेला परेको छ । संखुवासभामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।

संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीनको प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो । सोमबार भेटिएको शवको टाउको अनुहार नभएकाले पहिचान हुन कठिन रहेको र अन्य सम्पर्कविहीनको खोला किनारमा खोजी कार्य भइरहेको बताइएको छ ।

यसैबीच संखुवासभा प्रतिनिधिसभा सदस्य दीपक खड्काले बेपत्ताको खोजीमा सरकारका सबै संरचना परिचान गरी खोजतलास कार्र्यमा लागिरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीलगायत मन्त्रीलाई बाढी र पहिरोले पु¥याएको क्षतिका बारेमा जानकारी गराएको र बाढीपहिरो प्रभावित पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको बताउनुभयो ।

त्यस्तै, संखुवासभा जिल्लामा बाढीपहिरोमा परी घाइते ९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोले विभिन्न स्थानका १२ घरमा पूर्ण क्षति पु¥याएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावर, अपर हेवा हाइड्रोपावर र मेन्छेम हाइड्रोपावरमा ठूलो क्षति पु¥याएको छ ।

बाढीले हेवा र पिलुवा खोलामा रहेको २ वटा पक्की पुल बगाएको छ भने हेवा खोलामा निर्माणाधीन १ पक्की पुलमा क्षति पु¥याएको छ । त्यस्तै, बाढीपहिरोले सभाखोलामा रहेका २ वटा लिफ्ट खानेपानीमा क्षति पु¥याएको स्थानीयबासीले बताएका छन् । जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले हाइड्रोपावर निर्माणका सामग्री डोजरलगायत मेसिन औजारहरू बगाएको र लाखौं रुपियाँ बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोको क्षतिको विवरण आउन बाँकी रहेको र अहिले तत्कालै सम्पर्कविहीनको खोजीकार्य पहिलो प्राथमिकतामा राखेर खोजी कार्य गरी रहेको र उद्धार र राहतको काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । उहाँले बाढी र पहिरोले के कति भौतिक र अन्नबालीमा क्षति पु¥याएको विवरण संकलनसमेत गरिरहेको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोपीडितको युद्धस्तरमा उद्धार र राहतको काम गर्ने बताउनुभएको छ । उहाँले बाढी र पहिरोले निकै ठूलो क्षति पु¥याएकाले उद्धार र राहतको काममा सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो ।

सोमबार सेनाको हेलिकोप्टरमा गृहमन्त्री, मन्त्रीसहित बाढीग्रस्त क्षेत्र संखुवासभा आइपुगेका प्रधानमन्त्री दाहालले बाढी र पहिराले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै बाढीपहिरो प्रभावित र विस्थापितलाई तत्काल स्थानान्तरण र पुनःस्थापनमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले बाढीपहिरोले बगाएको पक्की पुलमा तत्कालै बेलिब्रिज बनाएर आवतजावतलाई सहज बनाउने बताउनुभयो । बाढीपहिरो प्रभावितका लागि सहयोगमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै तिनै जिल्लामा भएको क्षतिको विवरण हेरेपछि नयाँ कार्यक्रम ल्याउने प्रधानमन्त्री दाहालको भनाइ थियो । संखुवासभा जिल्लामा बाढीपहिरोले पु¥याएको क्षतिको बारेमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले प्रधानमन्त्री दाहाललगायत गृहमन्त्री, मन्त्रीलगायतलाई जानकारी गराउनुभएको थियो ।