योग अभ्यास गरौँ समाजलाई अनुशासित बनाऔं : गृहमन्त्री



काठमाडौँ। 

 नवौँ विश्व योग दिवसका अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सके व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले योग दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गर्नुभयो ।

मन्त्री श्रेष्ठले योगको महत्वलाई आत्मसात् गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पु¥याउँछ ।”

उहाँले सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको समेत बताउनुभयो ।

गृह मन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा उहाँको धारणा रहेको थियो ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका काम प्रतिष्ठा स्थापित गर्नेखालको भएकाले आफ्नो जिम्मेवारीलाई गहन रुपमा निर्वाह गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले योगको महत्त्व बुझ्दा आफै योगको सही अभ्यासमा तल्लीन भएर लागेपछि मात्र बुझ्न सकिन्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्