यौनिक तथा लैङ्गिक समुदायको राष्ट्रिय सर्वेक्षण गरिने

जनगणना २०७८ को तथ्याङ्कमा २९२८ समावेश



काभ्रे ।
नेपालको इतिहासमा पहिलो पटक यौनिक तथा लैङ्गिक समुदायको राष्ट्रिय सर्वेक्षण गरिने भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरु बीचको धुलिखेलमा सम्पन्न पुर्व तयारी कार्यशालामा सर्वेक्षणका बारेमा प्रारम्भिक छलफल भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय काभ्रेका उपप्रमुख तथ्याङ्क अधिकृत नेविनलाल श्रेष्ठले नेपालको इतिहासमा यौनिक तथा लैङ्किक समुदायको राष्ट्रिय सर्वेक्षण गर्न लागिएको बताउनु भयो । ‘राष्ट्रिय जनगणना सकिएको केहि समय भित्रै यो समुदायको सर्वेक्षण गरी गणना गरिनु महत्वपूर्ण उपलब्धी हो’– उपप्रमुख तथ्याङ्क अधिकृत श्रेष्ठले भन्नुभयो–‘तथ्याङ्कलाई विश्वासिलो, भरपर्दाे र सबै नागरिकहरुको बीचमा पु¥याउने गरी सचेतना बढाउन आवश्यक छ ।’
समुदाय स्तरको चेतनाले मात्रै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको पहिचान हुन सक्ने उहाँको भनाई थियो । सरकारले सोहि विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय तथ्याङ्क कार्यालय मार्फत सर्वेक्षण गर्न शुरु गरेको हो । कार्यशालामा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले संख्याका लागि मात्रै नभई यौनिक तथा लैङ्गिक समुदायका लागि विभिन्न क्षेत्रका समस्या समाधान तथा नीतिगत र कानूनी विषयलाई समेत सहजता हुने गरी सर्वेक्षण गरिन लागेको बताउनु भयो ।
‘सर्भे कसरी गर्ने ? यो सर्भेको नाम के राख्ने ? कुन समुदायमा पुग्ने र कुन जिल्ला अथार्त त्यो जिल्लाको पालिका, वडा र घरमा पुग्ने ? कसरी पुग्ने ? यावत विषयका बारेमा प्रारम्भिक छलफल भएको छ’–निर्देशक लामिछानेले भन्नुभयो–‘यौनिक तथा लैङ्किक समुदायका व्यक्ति तथा संस्थाहरुकै समन्वय र सहकार्यमा यो सर्वेक्षणसम्पन्न गरिनेछ ।’ कार्यशालामा निर्देशक केशव गौतम, तथ्याङ्क अधिकृत दिनानाथ लम्साल तथा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सर्भेका लागि खटिने विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै यौनिक तथा लैङ्गिक समुदायका तर्फबाट निलहिरा समाज, मितिनी नेपाल, इन्क्लुसिभ फोरम नेपाल लगायतका संस्थाबाट प्रतिनिधित्व रहेको थियो । यौनिक तथा लैङ्गिक समुदायका क्षेत्रमा कार्य गर्ने विज्ञहरु गौरी नेपाली, प्रतिमाया पुन, विरता पुन मगर लगायतको सहभागिता रहेको थियो । निलहिरा समाजकी कार्यक्रम संयोजक भूमिका श्रेष्ठले समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भयो ।
मितिनी नेपालकी सरिता केसीले विभिन्न स्थानमा यो समुदायका नागरिकहरुलाई फरक ब्यवहार हुने, विभेद गरिने र पहिचान खुलाउनै कठिन हुने अवस्था सिर्जना भएको बताउनु भयो । घर परिवारमा समेत बुझाउन कठिन भएको अवस्थामा अस्पतालमा डाक्टरहरुले समेत आफ्नो भावना बुझ्न नसकेको उहाँको गुनासो थियो ।
यौनिक तथा लैङ्किक समुदायका व्यक्तिहरुले पनि अन्य जस्तो बच्चा जन्माउन सक्छन, महिनावारी हुन्छन भन्ने कुरा समुदायले विश्वास गर्न नसकेको लक्ष्मी घलानले बताउनु भयो । परिवारबाट नै महिला मात्रै नभई अन्य लिङ्ग भएका व्यक्तिहरु पनि हुन सक्छन है भन्ने बुझाउन आवश्यक रहेको सहभागिहरुले बताए ।
यौनिक तथा लैङ्किक समुदायका व्यक्तिहरुका बारेमा समुदायमा आवश्यक सचेतना सहित सर्भे गर्ने गरी राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रारम्भमै सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेको हो । नेपालमा जनगणनाको तथ्याङ्क सार्वजनिक भए सँगै यो समुदायका व्यक्तिहरु खुल्न नसकेका कारण भएको संख्या पनि नदेखिएको उनिहरुले बताए ।
काभ्रेपलाञ्चोक जिल्लामा निर्वाचन मतदाताको सूचीमा दुई जनाले आफ्नो लिङ्ग फरक भएको फाराम भरेका छन् भने जनगणनामा जिल्लाको तथ्याङ्कमा अन्य लिङ्गका बारेमा तथ्याङ्क सार्वजनिक भएको छैन ।  कस्तो छ यो समुदायको अवस्था र तथ्याङ्क ?
नेपाल सरकार केन्द्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को घरमूलीको सुचिमा समावेश गरी सम्र्पूण लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई समावेश गरेको छ । २०७८ को नतिजा अनूसार कूल जनसंख्या मध्ये अन्य लिंङ्गी २ हजार ९ सय २८ जना रहेको तथ्याङ्ग सार्वजनिक भएको छ । यो कूल जनसंख्याको ०.०१ प्रतिशत हो । अन्य लिंङ्गी मध्ये बाग्मती प्रदेशमा ३२.७ प्रतिशत र कम कर्णाली प्रदेशमा २.८ प्रतिशत छन् ।
घरमूलिको सूचिका अधारमा वकालत गर्ने सजिलो भएको सरोकारवालाहरुले बताएका छन् । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका संघ सस्थालाई क्षमता अभिवृद्धि तथा कार्यक्रमहरुको आवश्यकता रहेको बताएका छन् । नमूना सर्वेक्षणका लागि एशियाली बिकास बैंकले सघाउने भएको छ । एशियाली बिकास बैंक, केन्द्रिय तथ्याङ्क कार्यालयलसंँगको सहकार्यमा यो कार्यक्रम शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्