प्युठान दुर्घटनामा आठ जनाको मृत्यु

0
Shares

प्युठान । प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किंदै गरेकोएउटा निजी कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार यात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरामा सोमबार अपराह्नसो कार दुर्घटना भएको थियो ।

कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुराबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा मृत्यु भएकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्नेसरिता शर्मा पोखरेल, निजको छोरा विशाल पोख्रेल र विकास पोख्रेल रहेका छन् । यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका गोविन्द शाह, उनकी श्रीमती राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

कारका चालक दाङ लमही नगरपालिका–४ का ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्यको एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले जानकारी दिनुभयो ।