डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर, एक हजार बढी लाभान्वित



काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदूरपश्चिका विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरूको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो ।

तीनवटा आँखा शिविरमार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परिक्षण गरि १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको छ ।

पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरि मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।

त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाउँपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण गरि ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताउछन् अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्ट ।

त्यसैगरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरि मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरूको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।

तीनवटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको बताउन अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट ।

अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्त, डा. लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरूको टोलीले शिविरहरूमा सेवा प्रदान गरेका थिए ।

आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीहरूले आँफ्नै घर आँगमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

नेपाल नेत्रज्योति संघअन्र्तगत सञ्चालित गेटा आँखा अस्पतालले शुदूरपश्चिमा थप ३ वटा सेकेन्डरी लेभलका आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर तथा १७ वटा आँखा उपचार केन्द्रहरूमार्फत यस क्षेत्रका नागरिकहरुलाई सुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ ।

अस्पतालको सेवा शुलभ र गुणस्तरियसमेत भएकाले छिमेकी देश भारतका नागरिकहरूसमेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने गर्दछन् ।

अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरूसँगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाहरुका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्