अर्थतन्त्र सुधारको अपेक्षा



देशको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः घट्दै गएको तथ्यांकले संकेत गरेको छ । विदेशी विनिमय सञ्चिति, चालू खाता एवम् शोधनान्तर स्थितिमा भएको सुधारलगायतका कारण अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत देखिएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ अर्थात् ११ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ । चालू आर्थिक वर्षको हालसम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ११ दशमलव २ महिनाको वस्तु आयात तथा ९ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था सिर्जना भएको छ । यो स्थिति अघिल्लो वर्षको सोही अवधिको तुलनामा व्यापक सुधार हो । खतराको सूचकसम्म पुग्न लागेको विदेशी विनिमय सञ्चितिमा सुधार आएसँगै सरकारलाई वैदेशिक व्यापारमा सहज हुने स्थिति छ ।

त्यस्तै कुल वस्तु व्यापार घाटा १५ दशमलव ९ प्रतिशतले घटेर १२ खर्ब ४ अर्ब ४२ करोड रुपियाँमा सीमित भएको छ । साथै चालू खातामा सुधार भई ५४ अर्ब ६७ करोड रुपियाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपियाँले घाटामा रहेको थियो । शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपियाँले घाटामा रहेको थियो । उता विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । उल्लिखित तथ्यांकले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत गरेको भए पनि समग्रमा अर्थतन्त्र अझै मजबुत भने हुन सकेको छैन । प्रस्तुत सूचकहरुमा सुधार भएकै हो । तर, कुल वस्तु निर्यात २४ दशमलव ५ प्रतिशतले कमी भई १ खर्ब ३० अर्ब ९० करोड रुपियाँमा सीमित भएको छ भने कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव ९ प्रतिशत र ४४ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अझै ७ दशमलव ४१ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ८९ प्रतिशत रहेको छ ।

खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८ दशमलव ४९ प्रतिशतले बढेको छ । यससँगै अझ महत्वपूर्ण विषय सरकारले राजस्व संकलनमा लिएको लक्ष्यको तुलनामा अत्यन्तै न्यून प्रगति भएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहेको स्थितिमा राजस्वले करिब ५९ प्रतिशत मात्रै लक्ष्य प्राप्त गरेको छ । साथै पुँजीगत खर्च पनि जम्मा ३८ प्रतिशतमा सीमित भएको छ । बैंकिङ प्रणालीमा तरलताको स्थिति अझै सहज हुन सकेको छैन । निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ८५ प्रतिशतको हाराहारीमा रहे पनि कर्जा लगानीको स्थिति अझै सहज हुन सकेको छैन । बजारमा लगानीको अभाव, उच्च ब्याजदर, महँगीजस्ता कारणले विश्वव्यापीरूपमा रहेको आर्थिक मन्दीले नेपालमा पनि समस्याको रूप लिने तर्खरमा छ ।

आयातमा गरिएको कडाइले विदेशी विनिमय सञ्चितिमा सुधार आए पनि त्यसको प्रत्यक्ष असर भन्सार राजस्वमा परेकाले राजस्व असुलीमा असर देखिन्छ । आयातमुखी अर्थतन्त्र रहेको नेपालमा छिटो–छिटो आर्थिक सूचकमा परिवर्तन आउनु स्वाभाविक हो । अहिले आयात घटेका कारण मुद्रा सञ्चिति र व्यापार घाटामा सुधार भएको देखिन्छ । तर, दिगो र मजबुत अर्थतन्त्रका लागि आन्तरिक उत्पादनलाई बलियो बनाउँदै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको र नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई डो¥याउनका लागि मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा देशको आन्तरिक उत्पादनलाई वृद्धि गर्दै पुँजीको संरक्षण गर्ने नीतिको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्