जलवायु न्यायको लागि काठमाडौँमा मानव साङ्लाको आयोजना



काठमाडौँ। 

जलवायु न्यायको भर्खरै सुरुवातको अभियानमा एक्सनएड इन्टरनेशनल नेपालले आज बिहीबार (८ जुन २०२३ मा) जलवायु न्यायको लागि मानव साङ्लाको आयोजना गरेको छ । सहभागीहरुले काठमाडौँको जमल स्थित विश्वज्योति हलको छेउमा भेला भएर मानव साङ्लाको आयोजना गरेको एक्सनएड इन्टरनेशनल नेपालका सञ्चार प्रबन्धक उमा थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समय भइरहेको जलवायु परिवर्तन तथा त्यसले गर्ने असर र जलवायु न्यायका बारेमा जानकारी दिनका लागि उक्त मानव साङ्लोको आयोजना गरिएको हो । एक्सनएड इन्टरनेशनल नेपालका प्रतिनिधि महेश बादलले जलवायु न्याय अभियानको अडान र नीति स्तर परिवर्तनहरु र यसले प्रतिनिधित्व गर्न सक्ने कुराहरुको बुझाई तथा मागहरुको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।

साथै जलवायु न्याय एउटा ज्वलन्त एजेन्डा भएको र यसले विशेष गरी महिला तथा युवालाई असर गर्ने गरेको उहाँको भनाई छ । उक्त प्रदर्शनले जलवायु न्याय अभियानलाई अगाडि बढाउन कार्यकर्ता, युवा, महिला, बालबालिका, किसान र जोखिममा परेका समुदायबाट एकता र एक्यनवद्धता ल्याउने देखिएको सञ्चार प्रबन्धक थापाले बताउनुभयो । उक्त मानव साङ्लो रानीपोखरी, रत्नपार्क हुँदै जमल सम्म पैmलिएको थियो ।

उक्त कार्यक्रममा काठमाडौँका युवा, महिला र बालबालिका गरी कम्तीमा पनि छ सय ५० भन्दा बढी सहभागी रहेको थियो । युवा नेतृत्वमा भएको कार्यक्रममा काठमाडौँका विभिन्न समुदायका युवा तथा कलेजका युवाहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले हात समातेर ऐक्यबद्धता बोकेका ब्यानर सहित जलवायु न्यायको माग गर्दै नारा लगाएका थिए । शान्तिवाटिकामा सवै सहभागीहरुको जमघटमा उक्त कार्यक्रमको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्