ए डिभिजन लिगमा नयाँ टोली च्याम्पियन

0
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको इतिहासमा उपाधि जित्ने सुचिमा अर्को एक टोली समावेश भएको छ । नयाँ च्याम्पियन हो चर्च ब्वाइज युनाइटेड । चर्च ब्वाइज पहिलो प्रवेशमै ए डिभिजन लिग च्याम्पियन बन्न सफल भएको हो । मंगलबार थ्रीस्टारसँग गोलरहित बराबरी खेलेर एक अंक जोडेपछि चर्च ब्वाइजले ए डिभिजन च्याम्पियनको सूचीमा आफ्ना नाम लेखायो ।

चर्च ब्वाइजको २५ खेलबाट ४५ अंक जोडेको छ । दोस्रो स्थानको मच्छिन्द्रको ३९ अंक रहेको छ । यी टोलीबीच ६ अंकको दुरी छ । तर, मच्छिन्द्रको लागि अन्तिम दुबै खेल जितेपनि चर्च ब्वाइजको लागि फरक नपर्ने भयो । यदि चर्च ब्वाइजले अन्तिम खेलमा हार बेहोरेपनि दुबै टोलीको ४५ अंक हुनेछ ।

यहाँ नेर गोल भिन्नताको आधारमा भन्दा पनि अंक बराबरी भएपछि हेड टू हेडमा नतिजा निकाल्ने प्रावधान रहेको छ । हेड टू हेडमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पराजित गरेको नतिजा छ । दोस्रो लेगमा चर्च ब्वाइजले मच्छिन्द्रलाई २–१ ले हराएको थियो । यो जितले चर्च ब्वाइजलाई उपाधि जित्न सहयोगी बनायो भने मच्छिन्द्रको लागि उपाधिको ढोका बन्द गरिदियो । पहिलो लेगमा भने यी दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

चर्च ब्वाइज २०६६ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएको क्लब हो । चर्च ब्वाइज १४ वर्षको मेहनतले अहिले ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज २०७५–७६ तिरको सिजनमा सी डिभिजन च्याम्पियन बनेको थियो । यसपछि गत सिजन २०७८ तिर बी डिभिजन च्याम्पियन भएर ए डिभिजनमा बढुवा भएको थियो ।

यसरी सी डिभिजन, बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजन च्याम्पियन बन्ने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि मनाङ मस्र्याङदी क्लब यही शैलीमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङले २०४३ सालमा ए डिभिजन लिग जितेको थियो । यहाँदेखि अहिलेसम्म मनाङले सर्वाधिक ८ पटक ए डिभिजन लिग उपाधि जितेको छ । तर, मनाङले डी डिभिजन लिगदेखि फुटबलमा पाइला जमाएको हो ।

चर्च ब्वाइजको उपाधिसम्म यात्रा

चर्च ब्वाइजले जारी लिगमा २५ खेल खेल्दा १३ जित निकालेको छ । यस्तै टोलीले ८ बराबरी खेल खेल्दा ४ खेलमा मात्रै हार बेहोरेको छ । टोलीले आफ्नो पोस्टमा १५ गोल आत्मसात गर्दा विपक्षीको पोस्टमा ३२ गोल गरेको छ । चर्च ब्वाइजको अन्तिम खेल खुमलटारविरुद्ध हुनेछ । सातौं खेलदेखि २५ औं खेलसम्म गरी १९ खेल

थ्रीस्टारलाई रेलिगेशनको पीर

चर्चब्वाइजसँग थ्रीस्टारले एक अंक त जुटायो । तर, रेलिगेशनको पीरले भने छोडेको छैन । हिजै खुमलटार युथ क्लबले एपीएफ एफसीलाई ३–१ ले हराएको थियो । यो जितले थ्रीस्टारमाथि रेलिगेशनको दवाव थपेको हो । थ्रीस्टारको २५ खेलबाट २९ अंक रहेको छ यदि अन्तिम खेलमा थ्रीस्टार पराजित भएमा रेलिगेशनमा पर्ने संभावना बढी नै छ । रेलिगेशनबाट बच्नको लागि थ्रीस्टारले अन्तिम खेलमा जित हात हासिल गर्नु पर्नेहुन्छ ।

खुमलटारको जित भएपनि रेलिगेशनको संभावनामा यथावत नै रहेको छ । खुमलटारले एपीएफलाई ३–१ ले हराएको हो । तर, यो जितले पनि खुमलटारको संकट टरेको छैन । टोली २५ खेलबाट २७ अंक लिएर १३ औं स्थानमा उक्लिन भने सफल भयो । अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइजसँग खेल्नेछ । यो खेलमा जित हात पारेपनि अन्य नतिजामा टोलीको भाग्य निर्धारण हुनेछ ।

जावलाखेल चौथो स्थानमा चिप्लियो

पहिलो लेगमा उपाधि जित्ने छनक देखाएको जावलाखेल टोली अंकतालिकाको चौथो स्थानमा चिप्लिएको छ । हिजो भएको खेलमा जावलाखेल सातदोबाटोसँग १–० ले पराजित भएको थियो । यो नतिजापछि जावलाखेल ३७ अंकसहित चौथो स्थानमा झरेको हो । यसअघिको खेलमा पुलिस र आर्मीले १–१ अंक बाँडेपछि जावलाखेलले तेस्रो स्थान पनि छाड्नु प¥यो । एक समय रेलिगेशनको पीर बोकेको पुलिस भने ३८ अंकसहित तेस्रो स्थानमा पुगेको छ । सातदोबाटो भने ३५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

महर्जनको पहिलो लिग उपाधि

ललितपुरको यो टोली चर्च ब्वाइजलाई उपाधि दिलाउन मुख्य प्रशिक्षक बालगोपाल महर्जनको ठुलो योगदान रहेको छ । राष्ट्रिय टोलीको प्रशिक्षक भएर पनि सफलता दिलाइसकेको महर्जनको यो पहिलो लिग उपाधि समेत हो । यसअघि मनाङ जस्तो टोलीमा आबद्ध भएपनि उनले उपाधि दिलाउन सकेनन् । लिगमा सातौं खेलदेखि महर्जनले चर्च ब्वाइजको जिम्मा लिएका थिए ।

महर्जनले यसपछि चर्च ब्वाइजलाई निखार्दै उपाधि सम्म दिलाउन सफल भए । महर्जनले नेपाल समाचारपत्रलाई बताए—मैले यो टोली सातौं खेलदेखि नेतृत्वमा लिएको हुँ । पहिलो लेगमा जावलाखेलको वर्चश्व रहेको थियो । तर, दोस्रो लेगमा हामीले उपाधि दावेदारीमा तगारो हुने टोलीलाई हरायौं । यो नै हाम्रो उपाधि जित्ने टर्निङ प्वाइन्ट बन्यो । हामीले जावलाखेल, मच्छिन्द्र, पुलिस, सातदोबाटोलाई हरायौं । यी टोलीलाई हराउनु नै हामीलाई उपाधि जित्न सफल भयौं । अर्को खेलाडीको अनुशासन, लगन र उपाधि जित्ने अठोटको संगम पनि उपाधि जित्न सहयोगी बन्यो ।

यो पनि बक्समा राख्ने

चर्च ब्वाइजको नतिजा :

विपक्षी टोली पहिलो लेग दोस्रो लेग
पुलिस २–१ (जित) १–० (जित)
खुमलटार ३–१ (जित) बाँकी छ
हिमालयन १–० (जित) १–१ (बराबरी)
संकटा ०–० (बराबरी) ०–१ (पराजित)
मच्छिन्द्र ०–० (बराबरी) २–१ (जित)
एनआरटी २–२ (बराबरी) ४–१ (जित)
एपीएफ ०–० (बराबरी) ४–१ (जित)
फ्रेन्ड्स १–१ (बराबरी) २–१ (जित)
थ्रीस्टार ०–० (बराबरी) ०–० (बराबरी)
सातदोबाटो २–१ (जित) १–० (जित)
जावलाखेल ०–१ (पराजित) ३–० (जित)
आर्मी ०–१ (पराजित) ०–१ (पराजित)
मनाङ ३–० (जित) ०–० (बराबरी)