अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी सुरु

0
Shares

म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा घोषणा गर्ने तयारी सुरु भएको छ । यसैक्रममा हिजो (आइतबार) अन्नपूर्ण गाउँपालिका र मिलन म्याग्दीको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोग एवं समन्वयमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बालमैत्री स्थानीय शासन अबलम्बन तथा बालमैत्री सुशासन प्रवद्र्धन गर्नको लागि अन्नपूर्ण गाउँपालिकाले सामूहिक प्रतिबद्धता जनाएको छ । प्रतिबद्धताअनुसार उक्त अभिमुखीकरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकालाई आगामी २०८२ सालको चैत मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि पूर्ण रुपले सहयोग गर्ने र गराउनका लागि सामूहिक रुपमा प्रतिबद्धता समेत जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, स्थानीय तहको विषयगत शाखा, सेवा प्रदायक सामाजिक संघसंस्था, विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्था, बाल क्लबका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाहरुले स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार अन्नपूर्णलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय तथा अर्थपूर्ण रुपमा सहभागितासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाइएको हो ।

कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जनाउँदै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्नको लागि सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पालिकालाई बालमैत्री पालिकाको रुपमा घोषणा गर्न यसअघि नै आवश्यक तयारी सुरु गरिएको बताउँदै अब सूचकहरु पुरा गर्दै क्रमशः वडा घोषणासँगै पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै गाउँपालिकाको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले पालिकामार्फत स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, महिला र बालबालिकाको क्षेत्रमा प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागतसहित औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले दीगो विकासका लक्ष्यहरुलाई राष्ट्रियकरण र स्थानीयकरण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि पालिकामार्फत अहिलेसम्म भएका प्रयासहरु र सञ्चालित गतिविधिहरुको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रम मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महासचिव शर्माले बालमैत्री स्थानीय शासन, स्थानीय सरकार सञ्चालन ऐन, दीगो विकास लक्ष्य, बालमैत्री शासनका क्षेत्रहरु, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरु र संस्थागत संरचनाहरुलगायत विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि २०८२ सालको चैत मसान्तसम्म घोषणा गरिसक्ने निर्णयसहित सामूहिक प्रतिबद्धता जनाइएको छ । स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा बचाउ, घटना दर्तालगायत विभिन्न ५१ वटा सूचकहरु पुरा गर्नुपर्दछ । बालमैत्री पालिका घोषणाको लागि अन्नपूर्णको वडास्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।

सूचकहरु पुरा गर्न पालिकाबाट बजेट विनियोजन गर्ने, सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पु¥याउने, पूर्ण खोपयुक्त पालिका बनाउनेलगायत आवश्यक सूचकहरु पुरा गर्नका लागि वार्षिक नीति, कार्यक्रम र बजेट बनाएर कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ । हालसम्म नेपालका २२ वटा र गण्डकी प्रदेशका ३ वटा गाउँपालिकाहरु बालमैत्री पालिकाको रुपमा घोषणा भैसकेका छन् ।