करोडौँमा किनिएको बसको कौडीको भाउ

0
Shares

वीरगन्ज ।

मधेस प्रदेश सरकारले करोडौँ खर्च गरेर खरिद गरेका पाँच वटा बस एकअर्कालाई हस्तान्तरण गर्नमै सीमित भएका छन् । प्रदेश सरकारले पाँच वटा बस प्रदेश परिवहन सञ्चालन गर्ने उद्देश्यले २०७७ सालमै खरिद गरेको भए पनि बस हालसम्म एकले अर्कालाई हस्तान्तरण गर्ने काम मात्रै भएको छ।

विगत चार वर्षदेखि ती बसहरु प्रदेश सरकारले विभिन्न संघसंस्थालाई चलाउनको लागि दिँदै आएको छ । ०७७ सालमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको पालामा ३ करोड ३९ लाख ७५ हजार रुपैयाँमा पाँच बस खरिद गरिएको थियो। ती बस प्रदेश परिवहनका नाममा सप्तरीको राजविराजदेखि पर्साको वीरगन्जसम्म प्रदेशका आठवटै जिल्लासम्म चल्ने भनिएको थियो। प्रदेशको राजधानी जनकपुरधाबाट दुई वटा बस राजविराज र दुई वटा बस वीरगन्जसम्म सस्तो भाडादरमा सञ्चालन गर्ने सरकारको भनाइ थियो। तर, करोडौँ रुपैया बजेट खर्च गरेर खरिद गरिएका बस अहिले चार वर्ष बितिसक्दासमेत सञ्चालनमा आएका छैनन्।

अहिले प्रदेशका विभिन्न संघसंस्थाहरुमा घुमिफिरी पाँच वटामध्ये एउटा बस वीरगन्जमा रहेको मधेस विश्वविद्यालयमा आइपुगेको छ। मधेस विश्वविद्यालयले पाएको एक बस विद्यार्थी बोक्न प्रयोग गरिने उपकुलपति डा. दिपक शाक्यले जानकारी दिनुभयो । बस प्रदेश सरकारले चलाउन नसकेर विभिन्न संघसंस्थाको जिम्मा लगाउने क्रम बढेपछि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भनेको छ।

आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनमा महालेखाले आवश्यकताको विश्लेषण नगरी बस खरिद गर्ने र सार्वजनिक सम्पत्तिको उचित प्रयोग तथा संरक्षण नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन पनि वार्षिक प्रतिवेदनमा भनिएको छ । प्रदेश सरकारले पाँच वटा बस ०७८ साल फागुन २४ गते निर्णय गरेर प्रदेश कृषि विश्वविद्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो। तर, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले आफूले पाएको बस ०७९ साल मंसिर ९ गते मधेस विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ।साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएका दुई वटा बसमा लेखापरीक्षणको अवधिसम्म नम्बर प्लेटसम्म नराखिएको महालेखाले जनाएको छ ।

मधेस सरकारले प्रदेशबासीहरुका लागि खरिद गरेको करोडौँका बस अहिले थन्किएका छन् । मधेस विश्वविद्यालय, वीरगञ्न्जमा पनि अध्ययन अध्यापन सुरु नभएकोले त्यहाँ रहेको एउटा बस पनि थन्काएर राखिएको छ।