विद्यालय बन्दमा पालिकैपिच्छे निर्णय फरक



हेटौंडा ।

अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक हप्ताका लागि विद्यालय बन्द भएका छन् । व्यापक दबाबपछि मात्र नगरपालिकाले यस्तो निर्णय लिएको हो ।

हेटौंडा उपमहानगरले आफ्नो दायित्वबाट पन्छिदै स्थानीय वडालाई नै विद्यालय बन्द गर्ने/नगर्ने जिम्मा दिएको थियो । पछिल्लो केही दिनयता हेटौंडामा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गर्नुपर्ने चौतर्फी आवाज उठेको थियो ।

विद्यालय बन्द गर्ने/नगर्ने विषयमा हेटौंडा उपमहानगरपालिकाले वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताउनुभएको भोलिपल्ट शिक्षा विकास महाशाखाको सूचना आएको थियो ।

भौतिक संरचना र आवश्यकता हेरेर हरेक वडाले आफ्नो क्षेत्रमा बिदा दिने/नदिने निर्णय गर्नसक्ने उहाँले बताउनुभयो । अन्य नगरपालिका वा गाउँपालिकाले भने धमाधम निर्णय गरिरहेका छन् ।

केही दिनयता हेटौंडामा अत्यधिक गर्मी बढेपछि स्कुले बालबालिका बिरामी पर्न थालेका छन् । गाउँपालिकाले आफैं निर्णय गरेर विद्यालय बिदा गर्दा नगरपालिका भने वडालाई जिम्मेवारी सार्दै आफू चुप बसेको थियो ।

दुवै स्थानीय तहले सूचना जारी गर्दै आइतबारदेखि २६ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द हुने जानकारी दिएका हुन् । जिल्लाको मनहरी गाउँपालिकाले भने गर्मीका कारण पालिकाका सामुदायिक विद्यालयमा विहानी कक्षा सञ्चालन शुरु गरेको छ । मनहरीले अर्को सूचना जारी नभएसम्म विहान ५ः४५ बजेदेखि १०ः३० बजेसम्म पठनपाठन हुने जनाएको छ ।

सोमबारदेखि मकवानपुरगढी गाउँपालिकाको सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ । केही दिनदेखिको गर्मीका कारण मकवानपुरगढी गाउँपालिकाका सबै विद्यालय तथा शैक्षिक संस्था सोमबारदेखि पाँच दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

पालिकाले सूचना जारी अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदा दिइएको उल्लेख गरेको छ । ती स्थानीय तहका शिक्षा विकास एकाईंले पालिकाभित्रका सबै वडालाई विद्यालय बन्द गर्न आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्