गृहमन्त्री श्रेष्ठद्वारा गोताखोर तालिम समापन

0
Shares

काठमाडौँ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ३ गोताखोर तालिमको बिहीबार एक समारोहका बीच समापन गर्नुभएको छ।

 सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी जवान गणेशबहादुर थापालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुँदै सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन र जोखिमका सन्दर्भमा कसरी उद्धार गर्ने भन्नेबारेमा तालिम शिक्षालय नै खोलेर जुन जिम्मेवारीबोधका साथ आफुलाई अगाडी बढाएको छ त्यो अत्यन्तै सराहनीय र प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले घटना दुर्घटनाहरुमा बलका राष्ट्रसेवकहरुले आफ्नो जिवनलाई नै खतरा मोलेर गरेको सेवाले आपतविपद्मा परेकाहरुको जीवन बाचेको छ, मृत्यु भएकाको शव निकालिएको छ, त्यो उदाहरणीय रहेको उल्लेख गर्नुहुँदै संगठनमा अन्य जिम्मेवारी भन्दा गोताखोरको जिम्मेवारी एक योगदानको रुपमा अंकित हुनेबताउनुभयो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले मनसुनको सुरुवातसँगसँगै बाढी, पहिरो डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्व तयारी र योजनाका साथ जुनसुकै बेला परिचालन हुनसक्ने हालतमा रहन संगठनका हरेक तहका कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्दै जिम्मेवारीलाई आत्मसाथ गरी सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च बनाईराख्न वृत्तिविकास र सेवा सुविधा कसरी बढाउन सकिन्छ भन्ने बारेमा गृहमन्त्रालयमा छफलफलको क्रममा रहेको बताउनुहुँदै चेन अफ कमाण्डमा रहेर सवै तहका कर्मचारीहरु एकताबद्ध भई पद अनुकुलको आचारण र जिम्मेवारी स्वच्छ, अनुशासित र कर्तव्यपरायणताका साथ प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले गोताखोर जनशक्ति विकासमा सहयोग पुर्योउनुहुने गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा लगायत सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा गोताखोर तालिम गर्नु र गोताखोरी कार्यमा आफूलाई समर्पित गर्नु आफ्नो ज्यान राज्य र नागरिकलाई सुम्पे बराबर रहेको बताउनुहुँदै सफलता र असफलता गौण कुरा हुन् तर पानीको गहिराईमा पुगि कसैको जीवित वा मृत उद्धार गरी पीडितको जहान परिवारलाई सुम्पिन सकियो भने दुवै अवस्थामा उसको परिवार गोताखोर र संगठनप्रति अनुग्रहित हुने उल्लेख गर्नुभयो ।

उहाँले विपद्को क्षेत्रमा भैपरी आउने नविनतम चुनौतीहरुको पूर्वानुमान र परिस्थिति विश्लेषण गरी परेको वखत परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी
बल नेपाल तयारी हालतमा रहेको बताउनुहुँदै बलका राष्ट्रसेवकहरुलाई व्यक्तिगत समस्याहरुलाई थाँती राखेर आफू सुरक्षित हुँदै नागरिकको उद्धार गर्ने कार्यमा दत्तचित्त भई परिचालित हुन निर्देशन दिनुभयो।

महानिरीक्षक अर्यालले गोताखोर तालिम व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु पनि
भएको बताउदै उहाँले भन्नुभयो–‘पानीमा बिलिन भएका तपाईका पसिनाले त्यतिबेला सार्थकता पाउनेछ जतिबेला तपाईले अरु कसैले गर्न नसकेको काम गरी जनताको मुहारमा मुस्कान ल्याउन सक्नुहुन्छ ।’

उहाँले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समयमा बर्ड अवधारणालाई परिचालनको नविन अवधारणाको रुपमा विकास गरेको र यस अन्तर्गत विपद् व्यवस्थापन र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजान आगामी बर्षबाट बलका अधिकृतहरुको लागि पीजीडी मा सीमा सुरक्षा र विपद् व्यवस्थापन कोर्ष संचालन गर्ने योजना रहेको बताउनुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी र १ जना नेपाल प्रहरीका गरी कूल २० जना सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए ।

समारोहमा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराथ थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ लगायत सरोकारवाला निकायका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपालमा सर्वप्रथम २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले युएनडिपीको सहयोगमा सशस्त्र बल डिभिजन प्रशिक्षण निर्देशनालय, ढाका बंगलादेशमा २०६९ वैशाख ३१ गतेबाट ३ महिना अबधिको गोताखोर तालिम प्राप्त गरेको थिए ।

गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य अनुरुप मजकुर गृह मन्त्रालयबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय सुनसरीमा २०७६ साल असोज ९ गतेदेखि कार्तिक २५ गतेसम्म १९ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम
प्रदान गरिएको र पुनः मजकुर गृह मन्त्रालयबाट नै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २०७९ साल वैशाख २५ गतेदेखि जेठ २९ गतेसम्म २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई गोताखोर तालिम प्रदान गरिएको तथा थप गोताखोर तालिम प्राप्त जनशक्ति विस्तार गर्नको निमित्त गण्डकी प्रदेश सरकारको सहयोगमा २०८० साल वैशाख १० गतेदेखि जेठ १८ गतेसम्म विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालन भएको गोताखोर तालिममा सशस्त्र प्रहरी बल नेपालको १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम सम्पन्न पश्चात सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको छ भने ३ सय १७ वटा शव निकालिएको छ ।