स्वास्थ्य मन्त्री बस्नेतद्वारा वीर अस्पतालको आकस्मिक निरीक्षण

एक हप्ताभित्र सेवामा सुधार गर्न नेतृत्वलाई निर्देशन



काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ । ’

वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आइसियु, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्त्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए ।

मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगरि अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आइसियु एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आइसियु बेड नपाएर भतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए । उनले भने, ‘ नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाडो आइसियु सञ्चालन गर्नु पर्‍यो । ’

देशभरि मिर्गौला फेल हुने बिरामीहरुको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए ।

वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए ।

मन्त्री बस्नेतले भने, ‘ सुरुमा हामी चिकित्सकहरुलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ । ’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरी परिवर्तन गरिने बताए ।

निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, देवकुमारी गुरागाईँ, अतिरिक्त सचिव डा. संगीता मिश्र र मन्त्रालयका अधिकारी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्