सुन्दर खिजी देम्बाका लागि अथक प्रयास

0
Shares

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकामा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पूरा भएको छ । यसै अवसरमा आफ्नो एक वर्षे कार्यकाल पूरा भएको अवसरमा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पत्रकार सम्मेलन गरी गाउँपालिकामा वर्षभरि भएका विकास निर्माणका कामहरूको सार्वजानिक गर्नुभएको छ ।

अध्यक्ष शेर्पाले सार्वजानिक गरेको प्रगति विवरणमा गाउँपालिकाको समग्र विकासका लागि पालिकाले सडक, ढल, शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युत्, खानेपानी, सिंचाइलगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरेको देखिन्छ ।

कार्यकालको सुरुवाती वर्षमा जिरो पोइन्ट फलाटे बजार र फलाटे बजार ओखलढुंगाको सडक मर्मतलाई उच्च प्राथमिकतामा राखेर काम गरेको र आधिकांश सडक श्रमदानको माध्यमबाट मर्मत गरिएको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।

खिजीदेम्बामा यो वर्ष करिब ३० किलोमिटर नयाँ सडक निर्माण गरिएको र ३५ किलोमिटर सडक मर्मत गरिएको बताइएको छ ।
यसै गरी खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा मातृभाषाबाट पठापाठनका लागि ऐन निर्माण गरी राजपत्रमा प्रकाशन गरिएको छ ।

अध्यक्ष शेर्पाले पहिलो एक वर्षको कार्यकालमा पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । खिजीदेम्बामा पर्यटन विकासका लागि ३ हजार ३ सय ५० मिटरको उचाइ भएको देम्बा डाँडामा गल्फ खेलको सफल परीक्षण गरिएको र गल्फ ट्रेकको रुट तयार गरी सो रुटमा ट्रेकिङ सञ्चालनका लागि ट्रेकिङ व्यवसायीसँग छलफलको तयारी भइरहेको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।

पर्यटन विकासकै लागि देम्बा डाँडाबाट प्याराग्लाइडिङ गरी कुन कुन स्थानमा ल्यान्डिङ पोइन्टको विकास गर्न सकिन्छ भनेर अध्यानका लागि नेपाल पर्यटन बोर्डबाट बजेटसमेत विनियोजन भइसकेको र यो असोज महिनामा काम गर्ने गरी सम्झौता गरिएको पालिका अध्यक्षले बताउनु भएको छ ।

यसै गरी अध्यक्ष शेर्पाले भौतिक पूर्वाधार विकास, विद्युत्, युवा खेलकुद, कला, साहित्य, सामाजिक सुरक्षालगायतका क्षेत्रहरूमा गरेका विकासहरूको विवरण प्रस्तुत गर्नुभयो ।